धनगढी : भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कैलाली जिल्लामा ठूलो मात्रामा भवन तथा सवारीसाधनमा क्षति पुगेको तथ्यांक सार्वजनिक भएको छ।
जिल्लास्थित सरकारी निकायले संकलन गरेको विवरणअनुसार १३७ भवन र ६७८ सवारीसाधन तोडफोड वा क्षतिग्रस्त भएका छन्। विवरणअनुसार, प्रहरी भवनमा ५ वटा क्षति पुगेका छन्।
तीमध्ये ३ पूर्णरूपमा नष्ट भएका छन् भने २ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै १२ वटा निजी घरमा क्षति पुगेको छ। जसमा ८ मा आंशिक क्षति पुगेको छ भने ४ मा सामान्य क्षति भएको प्रशासनले जनाएको छ। सबैभन्दा ठूलो क्षति सरकारी कार्यालयहरूमा भएको छ।
कुल १०३ सरकारी कार्यालय प्रभावित भएका छन्, जसमा २ पूर्ण, ७० आंशिक र ३१ मा सामान्य क्षति पुगेको उल्लेख छ। त्यस्तै, विभिन्न पार्टीका १७ कार्यालय क्षतिग्रस्त भएका छन्। जसमा ११ मा आंशिक क्षति भएको छ भने ६ मा सामान्य क्षति भएको छ।