अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– ११ का जनप्रतिनिधिहरुले आफ्नो एक महिनाको सेवासुविधा नलिने घोषणा गरेका छन् ।
सोमबार वडा कार्यालयमा बसेको बैठकमा वडाका ५ वटै जनप्रतिनिधिहरुले नगरपालिकाको पुर्ननिर्माणका लागि एक महिनाको सेवासुविधा नलिने घोषणा गरेका हुन ।
जेन जी को आन्दोलनका क्रममा नगरपालिकाको भवन पुर्णरुपमा क्षतीग्रस्त बनेको थियो । आगलागीका कारण क्षतीग्रस्त बनेको सो भवन मर्मत सम्भारका लागि सहयोग गर्ने उद्देश्यले एक महिनाको सेवासुविधा नलिने घोषणा गरेको वडाध्यक्ष प्रेम सिँ बडैलाले बताए ।
उनले आफूहरुको एक महिनाको सेवासुविधा नगरको भवन मर्मत र पुर्ननिर्माणमा लगाउन लागि आफूहरुको तर्फबाट सहयोग रहेको बताए । वडा नं. ११ मा २०७९ को निर्वाचनमा वडाध्यक्षमा बडैला निर्वाचित भएका थिए भने वडासदस्यमा कुमार सिँ बडैला, गंगा देवी खड्का, दिपा दमाई र दिल बहादुर साउँद निर्वाचित भएका थिए ।
वडाध्यक्षले २५ हजारको हाराहारीमा मासिक रुपमा सेवासुविधा वाफत पाउने गरेका छन भने वडासदस्यहरुले साढे ९ हजारको हाराहारीमा पाउने गरेका छन् ।