चोरी भएका सामान फिर्ता गर्न गोदावरी नगरपालिकाको आग्रह

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका कार्यालयबाट चोरी भएका सामान फिर्ता गर्न नगरपालिकाले आग्रह गरेको छ । जेन-जी पुस्ताको आन्दोलनका क्रममा २४ गते गोदावरी नगरपालिका कार्यालयको भवनमा तोडफोड र आगजनी भएको थियो ।

सोही समयमा नगरपालिका कार्यालयमा रहेका विभिन्न सामानहरू चोरी तथा लुटपाट भएका थिए । नगरपालिकामा रहेका कम्प्युटर, कुर्सी, टेवल लगायतका बिभिन्न सर-सामानहरू चोरी भएकाले फिर्ता गर्न भनिएको छ । नगरपालिकाको प्रशासनिक भवनमा आगो लागेका बेला चोरी गरिएका सामान फिर्ता गर्न प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले आग्रह गरेका छन् ।

नगरपालिका कार्यालयसहित फर्निचर, कम्प्युटर, कागजपत्र जलाइएको छ । नगरपालिकामा आगो लागेको समयमा राति केही स्थानियहरु कार्यालय भित्र प्रवेश गरेर उनीहरूले भेटाएको सर-सामानहरू चोरी गरेका छन् । चोरी भएका सामान फिर्ता गर्न नगरपालिकाले आग्रह गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत बिनाडीले भने, ‘धेरै टाढाकाले लग्नु भएको छैन । यहाँ नजिककाले लग्नु भएको छ । त्यति बेला कसैको उक्साहटमा लग्नुभयो होला, कसैले केही होला । कार्यालय जलेको बेला सामान लगेर सुरक्षित गरिदिनुभयो । नगरपालिकामा सरसफाई गरिदैछ, सामान राख्ने ठाँउ बनाउदै छौ । अब भने आफै बुझाउनका लागि आग्रह गर्दछु ।’

नगरपालिकाले आग्रह गर्दा गर्दै पनि चोरीका सर-सामानहरूरु फिर्ता गरिएन भने,चोरी भएको समयमा तस्विर तथा भिडिओ खिचिएको छ । कार्यालयका कर्मचारीहरूले पनि भिडिओ बनाएका छन् । सामाजिक सञ्जालमा भिडियो लाईभ पनि गरिएको छ, सोही भिडिओहरूका आधारमा चोरी भएका सामान फिर्ता गर्न लगाइने नगरपालिकाले जनाएको छ । चोरीका सामान आफै फिर्ता नगर्नेहरूलाई कानुन बमोजिम कारबाही पनि गरिने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बिनाडीले भने, ‘चोर्ने नियतका साथ कार्यालयमा आएकाहरुको हामीसँग भिडियोहरू छन् । ति भिडियोहरु जम्मा गर्दैछौ र हामी अनुसन्धानमा छौ । लग्नेहरुलाई लज्जित हुन सक्छ । हामीले भिडिओ सार्वजनिक गर्नु भन्दा पहिला सर-सामानहरू बुझाउनु होला।’

नगरपालिका कार्यालय खुल्ला भएसँगै चोरी भएका केही सामानसमेत फिर्ता आउन थालेका नगरपालिकाले बताएको छ । नगरपालिकाको कार्यालय र शाखाहरुका सर-सामानहरु पुर्ण जलेर नष्ट भएकाले अहिले सरसफाई गरिदै छ । सेवा सुचारु गर्न केहि दिन अझै लाग्ने देखिएको छ ।

आगलागी बाट क्षति पुगेको कार्यालय पुन निर्माणका लागि नगरपालिकाले सहयोगको अपिल गरेको छ । आगलागीबाट सम्पूर्ण भौतिक सामग्री नष्ट भएपछि सहयोगदाताहरु सहयोग गर्न थालेका छन । अत्तरियाका युवा व्यवसायी तथा गड्तौला सप्लायर्स अत्तरियाका प्रोप्राइटर प्रकाश देउवाले नगरपालिका कार्यालयलाई एक थान कुर्सी र एक थान कलर प्रिन्टर उपलब्ध गराउँदै पुनर्निर्माण अभियानमा हातेमालो गरेका छन् ।

सोमबार नगरपालिकामा बसेको सवैदलिय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, जनमोर्चा पार्टीका नेता तथा कार्यकर्ता र स्थानियले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

Loading...