दुग्ध विकास संस्थान प्रशासन कार्यालय अत्तरियामा लगाइएको ताला खुल्यो

अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) प्रशासन कार्यालयमा लगाइएको ताला खुलेको छ ।

स्थानीयको माग बमोजिम तत्काल डीडीसी नसार्ने आशयको पत्र डीडीसीको केन्द्रीय कार्यालयले पठाएपछि ताला खुलेको हो । डीडीसी धनगढी सार्ने तयारी पछि स्थानीयले विरोध गर्दै जेठ ८ गते डीडीसी अत्तरियामा तालाबन्दी गरेका थिए । यद्यपि तालाबन्दीका बिच डीडीसीको प्रशासनिक कार्यालय धनगढी सारिएको थियो ।

भदौ २९ गते डीडीसीको केन्द्रीय कार्यालयका निमित्त महाप्रबन्धक सञ्जीव झाले डीडीसी अत्तरियालाई पठाएको पत्रमा आयोजनालाई धनगढीको कनेरीमा स्थानान्तरण गर्ने विषयलाई लिएर तालाबन्दी भएकाले हाललाई प्रशासनिक, आर्थिक र उत्पादन सम्बन्धी सम्पूर्ण काम यथास्थानबाट गर्न भनिएको छ ।

उक्त पत्रका गोदावरी नगरपालिकालाई बोधार्थ राखिएको छ । डीडीसी केन्द्रीय कार्यालयको पत्राचार पछि मंगलबार बिहान बसेको सर्वदलीय सर्वपक्षीय बैठकले तालाबन्दी खोल्ने निर्णय गरिएको छ ।

बैठकमा गोदावरी नगर प्रमुख वीरेन्द्र भट्ट, डीडीसीका प्रबन्धक निरञ्जन भट्टराई, डीडीसी संघर्ष समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।

Deep Jyoti Pustak psl
Loading...