अत्तरिया : बैतडीको सुर्नया गाउँपालिकाले बिदाको दिन कार्यालयका सवारी साधन प्रयोग नगर्न निर्देशन दिएको छ ।
बुधबार सूचना जारी गर्दै गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुँवरले अत्यावश्यक बाहेकका कुनै पनि कार्यालयका सवारी साधनहरु बिदाको दिनमा प्रयोग नगर्न गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुलाई निर्देशन दिएका हुन ।
गाउँपालिका अध्यक्ष कुँवरद्धारा हस्ताक्षरित सूचनामा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले प्रयोग गरिरहेका कार्यालयको नाममा दर्ता रहेका कुनै पनि सवारी साधन सार्वजनिक बिदाको दिन प्रयोग नगर्न भनिएको छ ।
सूचनामा अत्यावश्यक सेवाका, सरसफाईमा प्रयोग हुने र प्रहरी ड्युटी बाहेकका सवारी साधनहरु व्यक्तिगत प्रयोजनका लागि सञ्चालन नगर्न सूचित गरिएको छ ।
सूचनाको बेवास्ता गरी कार्यालयका सवारी साधनहरु सञ्चालन गरेको खण्डमा सोको जिम्मेवारी सम्बन्धीत व्यक्ति नै हुनुपर्ने र कार्यालयका तर्फबाट नियमानुसार कारबाही समेत गरिने सूचनामा उल्लेख गरिएको छ ।
