सुदूरपश्चिममा खर्च कटौतीको प्रस्तावमा सहमती जुुटेन

धनगढी : सुदूरपश्चिम प्रदेशमा खर्च कटौतीको प्रस्तावमा सहमती नजुटेपछि सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले आह्वान गरेको बैठक बिहीबार बिहान मुख्यमन्त्री निवासमा भएको थियो । बैठकमा मुख्यमन्त्री शाहले खर्च कटौतीको प्रस्ताव राखेका थिए । ‘मुख्यमन्त्रीज्यूले १० लाखभन्दा कमका योजना कार्यान्वयन नगर्नेगरी खर्च कटौतीको प्रस्ताव राख्नुभएको थियो,’ माओवादी केन्द्रका उपनेता अक्कलबहादुर रावलले भने, ‘उक्त प्रस्तावमा हाम्रो समर्थन थियो ।

तर, एमालेका साथीहरू सहमत नभएपछि बैठक निष्कर्षबिनै टुंगिएको छ ।’ मुख्यमन्त्री शाहले १० लाखभन्दा कमका योजना हटाएर खर्च कटौती गर्ने प्रस्ताव राखेपछि पूर्वमुख्यमन्त्रीसमेत रहेका एमालेका संसदीय दलका नेता राजेन्द्र रावल र एमालेबाटै भौतिक पूर्वाधार विकासमन्त्री रहेका सुरेन्द्र पालले असहमति जनाएका थिए ।

बैठकमा सभामुख भीमबहादुर भण्डारी र प्रदेशका मन्त्रीसँगै एमालेका संसदीय दलका नेता रावल, एमालेका प्रमुख सचेतक चक्र मल्ल, कांग्रेसका प्रमुख सचेतक विक्रम धामी, माओवादी केन्द्रका उपनेता अक्कलबहादुर रावल र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी लगायतको उपस्थिति रहेको थियो ।

यसअघि नै मुख्यमन्त्री शाहले खर्च कटौतीको सूची तयार पार्न मन्त्रालयहरूलाई निर्देशन दिइसकेका छन् । नेपाल सरकारले अनुत्पादक खर्च कटौती गर्न पत्रचार गरेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बुधबार बैठक राखेर मन्त्री र सचिवलाई खर्च कटौती गर्न सकिने शीर्षकको सूची तयार गर्न निर्देशन दिएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आर्थिक मामिला मन्त्रालयले खर्च कटौती गर्न सकिने शीर्षकको सूची बनाएर मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गर्ने तयारी छ ।

Deep Jyoti Pustak psl
Loading...