दशैँको टीका लगाउने चार सय बढीले पाए निःशुल्क यातायात सेवा

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले बडा दशैँको टीका लगाउन जाने व्यक्तिहरूलाई विजया दशमीको दिन निःशुल्क यातायात सेवा प्रदान गरेको छ।

नगर प्रहरीले हिजो बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निःशुल्क यातायात सेवा प्रदान गरेको थियो। टीका लगाउन जाने ४०४ जनालाई निःशुल्क यातायात सेवा प्रदान गरिएको उपमहानगरले जनाएको छ।

Dhangadhi_Tihar 2083

नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा सवारी साधन नपाउने समस्यालाई मध्यनजर गरेर नगर प्रहरी मार्फत निःशुल्क यातायात सेवा दिइएको थियो। नगर प्रहरीले टीका ग्रहण गर्न जानेहरूलाई धनगढी उपमहानगरपालिका क्षेत्र भित्र निःशुल्क यातायात सेवा प्रदान गरेको थियो।

बडा दशैँको दिन गन्तव्यमा पुगी टीका ग्रहण गर्न समस्या नहोस् भनेर नगर प्रहरीले ९ वटा मोटरसाइकल, एक नगर प्रहरीको भ्यान र धनगढी उपमहानगरपालिकाको विशेषज्ञ वडा क्लिनिकको गाडी मार्फत यातायात सेवा प्रदान गरेको थियो।

नगर प्रहरीले धनगढीको १९ वटै वडामा निःशुल्क यातायात सेवा प्रदान गरेको हो।

Loading...