डोटीमा ट्राफिक प्रहरी मृत भेटिए, टाउकोमा चोट
घटनाको सत्यतथ्य छानबिन हुनपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै राजमार्ग बन्द
डोटी : डोटीमा एक जना ट्राफिक प्रहरी जवान मृत भेटिएका छन् । शिखर नगरपालिका-८ तिलताली घर भएका ट्राफिक प्रहरी जवान शंकर बलायर गोपघाटस्थित सडकमा मृत भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा बलायर कार्यरत थिए । उनी असोज ७ गतेदेखि लागू हुने गरी १८ दिनको बिदामा आएका थिए । गोपघाटस्थित सडक छेउमा मृत भेटिएका बलायरको टाउकोमा चोट लागेको देखिएको छ ।
गएराति मृत भेटिएका बलायरको घटनास्थल सिल गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिले स्थानीयले घटनाको सत्यतथ्य छानबिन हुनपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै राजमार्ग बन्द गराएका छन ।
