धनगढी : कैलाली उद्योग वाणिज्य संघको ५१ औं साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा व्यवसायीबीच चुनावी सरगर्मी बढेको छ ।
यही असोज २५ गते हुने निर्वाचनका लागि दुई मुख्य समूह र केही स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । सुदूरपश्चिमकै पुरानो र प्रभावशाली व्यवसायिक संस्था मानिने कैलाली उद्योग वाणिज्य संघमा यसपटक अध्यक्षदेखि सदस्यसम्मका पदमा उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ ।
अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन् । साथै, पदाधिकारी र सदस्य पदका लागि ६ जना व्यवसायीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता भएपछि दुवै समूहका उम्मेदवारहरू मतदाताको घरदैलो पुगेर समर्थनका लागि आग्रह गरिरहेका छन् ।
बिहानदेखि बेलुकासम्म उम्मेदवार र उनका समर्थकहरू उद्योगी–व्यवसायी भेटघाटमा व्यस्त छन्। चुनावी सभाहरू, मतदाता भेट कार्यक्रम र सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार तीव्र भइरहेको छ । अध्यक्ष पदका उम्मेदवार पुष्करराज ओझाले आफ्नो टिममा सबै क्षेत्रका सक्रिय व्यवसायीलाई समावेश गरिएको बताउँदै आगामी कार्यकालमा व्यवसाय प्रवद्र्धनका ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।
अर्का अध्यक्ष पदका उम्मेदवार रुपेश स्वाँरले आफू व्यवसायीहरूको सुझाव र मागका आधारमा उम्मेदवार बनेको बताए । एक पटक अध्यक्ष पदमा पराजित भइसकेका स्वाँरले यसपटक न्याय हुने र विजयी हुने बताए । कैलाली उद्योग वाणिज्य संघका २ हजार २ सय ७४ जना सदस्यले यसपटक मतदानमा सहभागी हुनेछन्।
संघमा आवद्ध व्यवसायीहरूको ठूलो संख्याका कारण यो निर्वाचन स्थानीय व्यापारिक समुदायमा आमनिर्वाचनको जस्तो माहोल ल्याएको छ। धनगढीका होटल, पसलदेखि व्यापारिक प्रतिष्ठानसम्म अहिले चुनावकै चर्चा छ ।
