धनगढी : भदौ २४ को प्रदर्शनका क्रममा आगजनी भएको नापी कार्यालय कैलालीमा ९५ लाख बराबरको क्षति भएको छ ।
६५ लाख बराबरका दुई गाडी, एउटा मोटरसाइकल, कम्प्युटर, प्रिन्टर, स्क्यानर, दराज कुर्सीहरू जलेको कार्यालयले जनाएको छ । नापी कार्यालय कैलालीका प्रमुख जनकराज भट्टले कार्यालयका सबै अभिलेखहरू भने सुरक्षित रहेको बताए । ‘भौतिक र आर्थिक क्षति भए पनि नापीका सबै अभिलेखहरू सुरक्षित छन् ।
सेवाग्राही समस्यामा पर्ने अवस्था छैन,’ उनले भने । उनका अनुसार कार्यालयको नक्सा प्रिन्ट गर्ने कोठा आगलागीबाट बढी प्रभावित भएको हो । त्यसमा केही सामान्य कागजातहरू जले पनि महत्वपूर्ण डाटामा क्षति नपुगेको उनले बताए । भदौ २४ देखि बन्द भएको सेवा प्रवाह २ असोजबाट पूर्ण रूपमा सञ्चालनमा आएको कार्यालय जनाएको छ ।
क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्ति विभागमा पठाएको र त्यहाँबाट सहयोग आए पुनः निर्माणको काम सुरु हुने कार्यालय प्रमुख भट्टले जानकारी दिए । भूमिसुधार तथा मालपोत र नापी कार्यालय कैलालीको भवन सँगै जोडिएका छन् । आगलागीबाट नापीभन्दा मालपोतमा बढी क्षति पुगेको छ ।
यद्यपि मालपोतले पनि आफ्नो सबै काम सञ्चालन गरिसकेको छ । कार्यालयका सूचना अधिकारी दिलाराज भट्टका अनुसार असोज ७ देखि सेवा प्रवाह सुरु भइसकेको हो ।
