अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– ४ मा एक युवकमाथी धारिलो हतियार प्रहार भएको छ ।
सो वडाको गोदावरीमा रहेको शुभम होटलमा नास्ता खाईरहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका– २ का ३२ वर्षिय गौरव ऐरमाथी धारिलो हतियार प्रहार भएको हो । धारिलो हतियार प्रहारबाट ऐर गम्भीर घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) रणबहादुर चन्दका अनुसार ऐरसहितको युवाहरुको टोली पिकनिक मनाउन गोदावरी तिर गएका थिए ।
पिकनिक मनाईसकेर बाँकी युवाहरु फर्किएपनि ऐर लगायतका केही युवा राती करिब ११ बजेतिर होटलमा बसेर नास्ता खान थालेका थिए । सोही समयमा बाहिरबाट आएको टोलीले ऐरमाथी आक्रमण गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको डिएसपी चन्दले बताए ।
उनले घाउँको प्रकृति हेर्दा ऐरमाथी खुकुरी प्रहार गरिएको जस्तो देखिएको बताए । गम्भीर घाईते ऐरलाई उपचारका लागि धनगढीस्थित निसर्ग हस्पिटलमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत रिफर गरिएको डिएसपी चन्दले बताए ।
धारिलो हतियार प्रहार गर्नेहरूको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।
