धनगढी : सेती प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी आन्दोलित भएका छन्। चाडपर्व भत्ता, पोसाक भत्ता र महङ्गी भत्ता नपाएको भन्दै कर्मचारी आन्दोलित भएका हुन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयबाट करार सेवामा भर्ना भएका १५० जना भन्दा बढी कर्मचारीले चाडपर्व खर्च, महङ्गी भत्ता र पोसाक भत्ता नपाएका हुन्। भत्ता नपाएपछि उनीहरूले आन्दोलनमै उत्रनु परेको बताएका छन्। कर्मचारीहरूले असोज ६ गतेदेखि भत्ता पाउनुपर्ने माग राख्दै आएका छन्।
अघिल्लो वर्षसम्म अस्पताल विकास समितिले चाडपर्व भत्ता उपलब्ध गराए पनि यो वर्ष भने गराएको छैन। भत्ता पाउनुपर्ने माग राख्दै सोमवार करार सेवाका कर्मचारीहरूले सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। उनीहरूले मन्त्रालयमै पुगेर आफ्ना माग राखेका हुन्।
यता सेती प्रादेशिक अस्पतालले भने सामाजिक विकास मन्त्रालयले १२ महिनाको तलब मात्रै अनुदान उपलब्ध गराएकाले चाडपर्व भत्ता दिन नसकिएको जनाएको छ। करार सम्झौतामै महङ्गी भत्ता र पोसाक भत्ता पाउने उल्लेख नभएको तर चाडपर्व भत्ता दिन सकिने भए पनि महालेखा परीक्षकको प्रतिवेदनमा भत्ता दिन नमिल्ने राय दिएकाले समस्या भएको अस्पताल प्रशासनले जनाएको छ।
मन्त्रालयले नियुक्त गरेको कर्मचारीलाई अस्पतालले भत्ता दिन नमिल्ने राय दिएकाले चाडपर्व भत्ता उपलब्ध गराउन समस्या भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए। उनले कर्मचारीहरूलाई चाडपर्व भत्ता उपलब्ध गराउन सकारात्मक भए पनि नीतिगत कारणले अस्पतालले आफ्नो कोषबाट भत्ता उपलब्ध गराउन समस्या भएको बताए।
सेती प्रादेशिक अस्पतालका लागि सामाजिक विकास मन्त्रालयले करार सेवामा नियुक्त गरेका कर्मचारीलाई अस्पतालले भत्ता खुवाउन समस्या भएको हो। चाडपर्व भत्ता, महङ्गी भत्ता र पोसाक भत्ता मन्त्रालयले नै उपलब्ध गराउनुपर्ने महालेखाको प्रतिवेदनमा सुझाव दिइएको अस्पतालले जनाएको छ। करार सेवाका कर्मचारीहरूले अस्पताल र मन्त्रालय आफ्ना मागप्रति सकारात्मक रहे पनि भत्ता दिने निष्कर्षमा पुग्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन्।
उनीहरूले कामकाज नै ठप्प गरेर आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
