कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता

कञ्चनपुर : कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता आएका छन् । जेन जी आन्दोलनका क्रममा कारागार तोडफोड गरी फरार भएका कैदीबन्दी मध्ये ३८८ कैदीबन्दी फिर्ता आएका हुन ।

जसमा ३७१ पुरुष र १७ महिला कैदीबन्दी रहेको जिल्ला कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीले जानकारी दिए । उनका अनुसार अझै ९९ कैदीबन्दी फरार रहेका छन् । जोशीका अनुसार फिर्ता भएकामध्ये ६३ कैदीलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागारमा बुझाएको हो ।

कारागारमा हाल १४ भारतीय नागरिक समेत कैद सजाय भोगिरहेका छन् भने १७ भारतीय कैदी अझै फरार छन् । स्वेच्छिक रूपमा फिर्ता हुन तोकिएको समयभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुन अनुसार कानुनी कारबाही हुने भएको छ ।

निमित्त प्रशासक जोशीका अनुसार फरार कैदी वा थुनुवा लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति पनि कानुनी रूपमा कसुरदार ठहरिने र उनीहरूमाथि समेत आवश्यक कारबाही अघि बढाइने व्यवस्था छ ।

पटकपटक कारागार प्रशासनले स्वेच्छिक रूपमा फर्किन सार्वजनिक अपिल गरे पनि अझै केही कैदी सम्पर्कमा नआएकाले प्रहरीले फरार कैदीबन्दीको खोजी र पक्राउ कार्य तीव्र बनाइएको निमित्त प्रशासक जोशीको भनाइ छ ।

Deep Jyoti Pustak psl
Loading...