बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन् ।
पाटन-पञ्चेश्वर सडकखण्ड अन्तरगत मेलाैली नगरपालिका-७ सुनासानीमा से १ ज ७३२ नम्बरको गएराति पाैने ११ बजेतिर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मेलाैली नगरपालिका-२ बस्ने २३ वर्षीय तुलसी कलाैनी पाण्डेकाे मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले बताए ।
उनकाअनुसार दुर्घटनामा अन्य चार जना घाइते छन् । घाइते हुनेमा दशरथचन्द नगरपालिका-७ का ३४ वर्षीय जनक बडु, मेलाैली-२ बस्ने ४३ वर्षीय डम्बरदत्त पाण्डे,३४ वर्षीय हरिश पाण्डे र २८ वर्षीय ओम पाण्डे रहेकाे डीएसपी जाेराले बताए ।
घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएकाे छ।
