अत्तरिया : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गोकर्ण भट्टले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले आत्मालोचना सहित प्रदेश कमिटी सचिवालय सदस्य सहित पार्टी सदस्य नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन ।
उनले पार्टीभित्रको गुटबन्दी, अवसरवाद, धनवाद, डनवाद र यौनवादजस्ता प्रवृत्तिप्रति गम्भीर असन्तोष जनाउँदै अब एमालेमा रहन नसक्ने बताएका छन् । जेनजी आन्दोलन पछि अराजक अभिव्यक्ति दिँदै दम्भ र अहंकारले मुलुक थप जटिल मोडमा गइरहेको यथार्थलाई कसैले नकार्न नसकिने बताउँदै नेपालका राजनैतिक दलहरू सत्ताको रसास्वादन मिलीजुली चाट्ने ब्वाँसा भएको उनले बताए।
इमानदार कार्यकर्ता र नेताको मूल्याङ्कन हुने परम्परा हराउँदै गएको र सत्ता र स्वार्थका लागि पार्टीहरू चरम अवसरवादमा डुबेका बताए । भट्टका अनुसार उनले २०७५ सालमा एमाले र माओवादी एकीकरणपछि गोदावरी नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
२०७४ सालमा गोदावरी नगरपालिकाको मेयरमा नेकपा माओवादीबाट नगर प्रमुखको उम्मेदवार भएका उनी पार्टी विभाजनपछि पनि एमालेमै रहँदै २०७९ सालको स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवार बनेका थिए । उनले पार्टीबाट उम्मेदवार बनेपछि अन्तर्घात, मासु भात र रक्सी खुवाउन नसक्दा पराजित भएको बताएका छन् ।
उनले आफ्नो राजनीतिक यात्रा स्मरण गर्दै भनेका छन्, ‘बाल्यकालदेखि संघर्षपूर्ण जीवन बिताएँ । विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रामा कैयौं पटक गिरफ्तारी, यातना र व्यक्तिगत क्षति सहनुप¥यो । तर न्याय र परिवर्तनको विश्वास कहिल्यै हराएन ।’
भट्टले आफू अब स्वतन्त्र नागरिकको हैसियतमा समाज र देशका लागि आफ्नो क्षमताले भ्याएसम्म सेवा गर्ने बताउँदै भनेका छन्, ‘देश दुई ठूला दलको अपवित्र गठबन्धन र भ्रष्टाचारको दलदलमा फसेको छ । अब आत्मालोचना गर्दै नयाँ बाटो रोजेको छु ।’
उनले आफूले २०३६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर २०३७ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज क्याम्पसमा अध्ययन भएर अनेरास्वीयु बाँके जिल्ला कमिटी सचिव र महेन्द्र बहुमुखी क्याम्पसको विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएको, २०३८ सालको छैटौँ राष्ट्रिय सम्मेलनमा भाग लिन काठमाडौँमै गिरफ्तार भए र तिन महिना पञ्चायती काल कोठरीमा यातना पाएको कुरा उक्त स्ट्याटसमा उल्लेख गरेका छन् ।
उनले जनयुद्धमा प्रत्यक्ष सहभागी नभए पनि अप्रत्यक्ष रूपमा नैतिक भौतिक समर्थन गर्नुका साथै सेल्टर दिनेसम्म काम गरेको, तत्कालीन शाही सेना प्रहरीबाट मानसिक यातना पाएको उल्लेख गरेका छन् ।

