काठमाडौँ : सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमतीविना काठमाडौँ उपत्यका छाड्न नपाउने सरकारी निर्णयविरुद्धको रिटमा पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अधिवक्ता डा. प्रेमराज सिलवालले ओली र लेखकलाई स्थानहद तोक्नु कानून विपरीत हुने भन्दै दिएको रिट निवेदनमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगलाई आदेश गरेको छ ।
जेन-जी आन्दोलन भदौँ २३ र २४ को दमन र आगजनीबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा सरकारले ओली, लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतीविना काठमाडौँ उपत्यका छाड्न रोक लगाएको थियो ।
यसअघि तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि त्यस्तै निर्णय भएको थियो तर सरकारी कामकाजका लागि उनी बाहिर जानुपर्ने भन्दै सरकारले स्थानहद खुलाएको थियो ।
यसअघि संसद विघटनविरुद्धको रिटमा पनि सर्वोच्चले अन्तरिक आदेश दिएको थिएन ।

