मंसिर २२ गते देखि सुदूरपश्चिम महोत्सव हुने

अत्तरिया : कैलालीको धनगढीमा आगामी मंसिर २२ गते देखि सुदूरपश्चिम महोत्सव हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन,कृषि,उद्योग र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित १९औं संस्करणको सुदूरपश्चिम महोत्सव हुने भएको हो ।

संघले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढी-१ पशुपति टोलमा आयोजना हुने १९औं संस्करणको महोत्सवको बारेमा जानकारी दिएको छ । महोत्सवमा स्थानीय व्यवसायीलाई विशेष प्राथमिकता दिनुका साथै कैलाली उद्योग वाणिज्य संघमा दर्ता भई नियमानुसार नवीकरण भएका सदस्यहरूलाई विशेष छुट तथा सहुलियत प्रदान गरिने संघका अध्यक्ष पुष्कर राज ओझाले बताए ।

महोत्सवमा ३ करोडको लगानीमा १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेकट्रोनिक, होटल र सूचना प्रविधि गरी ५ सय स्टलहरू रहने जनाइएको छ । जसमा कृषिका ४० वटा निःशुल्क, महिला उद्यमी, एकल महिला, स्थानीय परिकार गरी १५ वटा स्टल गरी जम्मा ५५ वटा स्टल निःशुल्क दिइने छ ।

महोत्सवमा ७ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्न मूल आयोजक समिति सहित २३ उप समिति गठन गरिएको छ ।

महोत्सव अवलोकनको लागी विद्यार्थी, खेलाडीहरूलाई ५० र सर्वसाधारणलाई १०० रुपैयाँ टिकट राखिएको छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ । महोत्सवमा संघमा दर्ता भएर नियमानुसार नवीकरण भएका व्यवसायी सदस्यहरूलाई सदस्यता पत्र देखाई निःशुल्क प्रवेश गराइने जनाइएको छ ।

अध्यक्ष ओझाले सुदूरपश्चिमको आर्थिक, सामाजिक र सांस्कृतिक सम्भावनालाई देश-विदेशमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । “महोत्सवले प्रदेशको पर्यटन, कृषि र उद्योग क्षेत्रमा नयाँ लगानी र अवसर ल्याउने विश्वास लिइएको छ,” उनले भने ।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा महोत्सव आयोजना गरिरहेको छ।

Dhn_Tihar & Chhat 2082
Loading...