कैलालीमा स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ

धनगढी : कैलालीमा स्रोत नखुलेको २८ लाखसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

धनगढी उप-महानगरपालिका ३ को मिलनचोकबाट विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले भारतको लखिमपुर खिरी पलिया बस्ने बर्ष २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले उनीहरुको साथबाट २८ लाख तीन सय ५० नेपाली रुपैयाँ बरामद गरिएको बताए ।

पक्राउ परेका मध्ये हरचित गुप्ताले चलाएको युपी ३१ सीएन ११७५ नम्बरको भारतीय कारमा स्रोत नखुलेको रकम फेला परेको थियो । कार र पक्राउ परेका दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Dhn_Tihar & Chhat 2082
Loading...