डोटीको मौवा स्थित नमादेब मन्दिरमा आज जाँत हुदै

अत्तरिया : डोटीको मौवा स्थित नमादेव मन्दिरमा कार्तिक २३ गते जाँत हुने भएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा अवस्थित प्रसिद्ध नमादेब मन्दिरमा आज चतुर्थीका दिन जाँत हुने भएको हो ।

कार्तिक एकादशीका दिन १६ गते हुने जाँत केहि समस्याका कारण रोकिएर आज हुने भएको हो । कार्तिक २२ गते तृतीयाका दिन रतेडी र आज २३ गते चतुर्थीका दिन दिउँसेडी जाँत हुने बताइएको छ ।

जाँतको अघिल्लो दिन (कारिंगे र दुगराला) दुई गाउँको र दोस्रो जाँतको दिन बिहान (साउनकाँडा, बाबनकाँडा, भारिकोट) गरि पाँच गाउँको देउरो आउने गरेको नमादेव मन्दिरका पुजारी मदन ओझाले बताए । रतेडीका दिन पुजा आराधना संगै बिभिन्न चर्चित देउडा गायक लाई बोलाएर रातभर देउडा खेलेर रमाइलो गर्ने गरिएको छ भने दोस्रो दिनमा दिउँसेडी मेला लाग्ने गरेको छ ।

आफ्नो कुल देउता पुज्न बिभिन्न ठाउँमा बसोबास गरिरहेकाहरु उक्त दिन सो ठाउमा पुग्ने गर्दछन् भने मेला हेर्न अन्य गाउँका मानिसहरु पनि त्यहा आईपुग्ने गर्दछन् । नमादेब देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ ।

मेलामा आफ्न्तहरुले भेटघाट गर्दै आफ्ना सुखदुःखका कुरा साटासाट हुने गर्दछन् । मेलामा स्थानीय स्तरमा उत्पादित बस्तु र कृषि उपजको व्यापार समेत हुने गरेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला तिहार लगतै विभिन्न शक्तिपिठमा मेलाको चहलपहल सुरु भएको छ । डोटीका पनि विभिन्न प्रशिद्ध धार्मीक स्थलमा पनि जाँत (जात्रा) हुँदा मन्दिरको पूजा र दर्शन गर्न तराईका जिल्ला कैलाली, कञ्चनपुर लगायत भारतमा रहेका सुदूरपश्चिमेलीहरु आफ्नो गाउँघरमा आउने गर्दछन् ।

Deep Jyoti Pustak psl
Loading...