अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१० खमौराका शेरबहादुर चौधरीको हत्या आरोपित एक जनालाई जिल्ला अदालत कैलालीले तारेखमा छोडेपछि चौधरीको परिवारले न्यायका लागि राष्ट्रिय मानवअधिकार आयोगसँग गुहार मागेका छन् । शुक्रवार धनगढीस्थित मानवअधिकार आयोगको प्रादेशिक कार्यालयमा गएर चौधरीको परिवारले हारगुहार मागेको हो ।
शेरबहादुर चौधरीलाई असोज २३ गते राति स्थानीय लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्लले लखेटेर मारेको भन्दै आफन्तले किटानी जाहेरी दिएका थिए । विकास मल्ललाई अदालतले साधारण तारेखमा छोडेको हो भने लोकेन्द्र मल्ललाई थुनामा पठाइएको छ । विकासलाई साधारण तारेखमा छोडिएको र उनी विदेश गइसकेको चौधरी परिवारको दाबी छ । उनीहरूले लोकेन्द्र मल्लसमेत छुट्न सक्ने भन्दै प्रहरीको अनुसन्धान त्रुटिपूर्ण रहेको जिकिर गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालयमा मृतक चौधरीकी आमा पुतली चौधरी, दाइ सन्तोष चौधरी, भाइ रमेश चौधरी, आफन्त बाबुराम चौधरी,भलमन्साको समूह संगै गोदावरी-१० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) समेत आयोगको कार्यालयमा पुगेका हुन् ।
मध्यरातमा घरमै आएर मार्ने भन्दै ढोका तोड्न थालेपछि पछाडिको ढोकाबाट भागेका शेरबहादुर असोज २४ गते मृत फेला परेका थिए । मल्ल दाजुभाइले चौधरीलाई राति लखेटेर मारेको भन्दै दुवै जना विरुद्ध मृतक चौधरीको परिवारले किटानी जाहेरी दिएको थियो । तर अनुसन्धानमा लापरबाही भएकाले एकजना आरोपितले रिहा हुने मौका पाएको मृतककी भाइबुहारी सलिना चौधरीले बताइन् । उनले न्यायका लागि हारगुहार माग्न आफूहरू मानवअधिकार आयोगमा आएको बताएकी छन् । उनले घटनास्थलको मुचुल्का उठाउँदा प्रहरीले जिम्मेवारी पूरा नगरेको गुनासो गरिन् । शव बरामद गर्दा घटनास्थलको विवरणमा त्रुटि गरिएको, पोष्टमार्टम रिपोर्टमा कैफियत रहेको र बयान लिँदा आफूहरूले बोलेको कुरा प्रहरीले मिसिलमा उल्लेख नगरेको दाबी सलिनाको छ।
मृतक चौधरीका आफन्त बाबुराम चौधरीले न्याय नपाउने सम्भावना बलियो भएको बताएका छन् । एकजना आरोपी तारेखमा छुट्नुले आफूहरूलाई न्याय मिल्दैन कि भन्ने लागेको बताए । प्रहरीले अनुसन्धानमा कमजोरी गर्दा न्याय पाउने आस मरेको उनको गुनासो छ । मल्ल दाजुभाइ विरुद्ध प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएपछि प्रहरीले जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरेको थियो । अदालतले लक्की मल्ललाई पुर्पक्षका लागि कारागार चलान गरे पनि विकास मल्ललाई भने सामान्य तारेखमा रिहा गरेको भन्दै मृतक चौधरीका आफन्त असन्तुष्ट छन् ।
शेरबहादुरको न्यायका लागि गठित सङ्घर्ष समितिका संयोजक बाबुराम चौधरीले सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दर्ता गर्ने आश्वासन दिएपछि तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको बताएका छन् । घरमै आएर मार्ने धम्की दिने व्यक्तिहरूले उन्मुक्ति पाए हदैसम्मको आन्दोलन गर्न आफूहरू तयार रहेको उनले बताएका छन् ।
लक्की र विकास मल्लले असोज २३ गते राति घरको ढोकामा हान्दै मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट शेरबहादुर भागेका थिए । उनको असोज २४ गते घर नजिककै खोलामा शव फेला परेको थियो । उनको शव घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको थियो । त्यसपछि मृतकका आफन्तले घरको ढोकामा हान्दै मार्ने धम्की दिएका लक्की मल्ल र विकास मल्लले शेरबहादुरलाई लखेटी लखेटी मारेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएका थिए ।
शेरबहादुरको हत्यामा संलग्नले कानुनी कारबाही पाउनुपर्ने चौधरी परिवार र आफन्तको माग छ । उनीहरूले राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका निमित्त प्रमुख झंकरबहादुर रावललाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै रावलले घटनाको अनुसन्धान बारे बुझ्ने आश्वासन दिएका छन् ।
