नेकपा एमाले जिल्ला कमिटी कैलालीले गर्‍यो धनगढीमा जनसभा

धनगढी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कैलालीले धनगढीमा आज र्‍यालीसहित जनसभा आयोजना गरेको छ । एमालेले आज विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको मागसहित देशैभर जिल्लास्तरीय जनसभाहरू आयोजना गर्ने क्रममा धनगढीमा पनि कार्यक्रम आयोजना गरेको हो ।

एमाले जिल्ला कमिटी कैलालीले धनगढीमा र्‍याली निकालेर जनसभा गरेको थियो । जनसभालाई एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, एमाले जिल्ला इन्चार्ज नारदमुनि राना लगायतले सम्बोधन गरेका थिए । जनसभामा विभिन्न तहका पार्टी पदाधिकारी तथा कार्यकर्ताको सहभागिता थियो ।

जनसभामा बोल्दै नेताहरूले जेन्जी आन्दोलन पश्चात् गठन भएको वर्तमान सरकारलाई विदेशी शक्तिबाट सञ्चालित भएको आरोप लगाएका छन् । जेन्जी आन्दोलनले देशभर तोडफोड र आगजनी गरेको भन्दै नेताहरूले आन्दोलनप्रति तिखो टिप्पणी गरेका छन् ।

जनादेश प्राप्त सरकारलाई विदेशीको इसारामा फाल्ने काम भएको भन्दै नेताहरूले वर्तमान सरकार गैरसंवैधानिक तरिकाले गठन भएको बताएका छन् ।

एमालेले संसद पुनर्स्थापनाको माग गर्दै वडा, पालिका हुँदै आज जिल्लास्तरीय भेला आयोजना गरेको थियो । एमालेले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको आवाज उठाउँदै आएको छ ।

Loading...