सुदूरपश्चिममा एकल महिला, द्वन्द प्रभावित महिला र सीमान्तकृत समूहका लागि छलफल कार्यक्रम सम्पन्न

अत्तरिया : कैलालीको अत्तरियामा बुधबार एकल महिला, द्वन्द प्रभावित महिला र सीमान्तकृत समूहका प्रमुख अभिवृद्धि सम्बन्धी स्थानीय सरोकारवालाहरूसँग छलफल कार्यक्रम आयोजना गरिएको छ।

मानव अधिकारको लागि महिला एकल महिला समूह सुदूरपश्चिम प्रदेश, धनगढीले आयोजना गरेको सो कार्यक्रममा समूहका प्रदेश उपाध्यक्ष शान्ति महत जाग्रीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो। फाया नेपालकी अध्यक्ष गोमा आचार्यले कार्यक्रमको सहजीकरण गरेकी थिइन्। कार्यक्रममा सहभागी जय धामीले सेवा ग्राहीहरूको पहुँच प्रविधि मैत्री बनाउनुपर्ने, गोदावरी नगरपालिकाभित्र भएका गतिविधिहरू पारदर्शी हुनुपर्ने र कर्मचारीहरूले समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

उनले नीति–नियमको कडाइ, आचारसंहिता पालन, र सबै कार्यमा निष्पक्षता आवश्यक रहेको बताउँदै, सेवा ग्राहीलाई परिवर्तनमुखी दृष्टिकोण अपनाउन प्रेरित गरेका थिए। गोदावरी नगरपालिका प्रशासनिक अधिकृत शिवराज भाटले पछिल्लो जेञ्जी आन्दोलनले कर्मचारी तथा राजनीतिक प्रतिनिधिहरूलाई सचेत बनाएको बताए। कार्यक्रममा फाया नेपालकी अध्यक्ष गोमा आचार्यले पछिल्लो समय देशभरको सामाजिक परिवर्तनले सबैलाई अगाडि बढ्न सचेत गराएको उल्लेख गरिन्।

नगरपालिकाका उप प्रमुख शारदा देवी रोकायाले पालिका भित्र नियम–कानुन भएको बावजुद कार्यान्वयनमा अझै चुनौती रहेको र महिला सशक्तिकरणका साथै बजेट कार्यान्वयनमा मतभेद रहेको जानकारी दिइन्। उनका अनुसार न्यायिक समिति र पालिकाभित्र १० भन्दा बढी समितिहरूमा महिला सहभागीता वृद्धि भए पनि प्रभावकारी कार्यान्वयन आवश्यक छ।

कार्यक्रमले स्थानीय महिला, विशेष गरी एकल महिला र द्वन्द प्रभावित तथा सीमान्तकृत समूहका सदस्यहरूलाई सशक्त बनाउन र उनीहरूको पहुँच बढाउन नीति–निर्माण र कार्यान्वयन प्रक्रियामा सरोकारवालाहरूलाई सचेत बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

Deep Jyoti Pustak psl
Loading...