अत्तरिया : कैलालीमा केही दिनयता प्रहरी फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई तीव्र बनाएको छ।
अदालतले दोषी ठहर गरे पनि फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो।
बुधबार मात्रै जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसेका २१ जनालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत कैलालीमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेकामध्ये सबैलाई मिलाएर ३ वर्ष ९ महिना ८ दिन कैद र २१ लाख ३१ हजार ७८८ रुपैयाँ जरिवाना तोकिएको छ। यसअघि मंगलबार पनि प्रहरीले एकै दिन ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो।
प्रहरीले जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि लगातार धमाधम गिरफ्तारी गरिरहेको जनाएको छ।
