एसक्यूसी सुदूरपश्चिम हबले नन्दिनाज एकेडेमी, धनगढीमा सम्मेलन आयोजना गर्ने

धनगढी : विद्यार्थी गुणीय चक्र (एसक्यूसी) सुदूरपश्चिम हबले यही मङ्सिर १३ गते शनिवार नन्दिनाज एकेडेमी, धनगढीमा सम्मेलन आयोजना गर्ने भएको छ।

सम्मेलनबारे जानकारी दिन शुक्रवार नन्दिनाज एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक टोलीले कार्यक्रमको उद्देश्य र तयारीबारे जानकारी गराएको हो। सम्मेलन हबका को–ओर्डिनेटर दीपक भट्टको अध्यक्षता तथा नन्दिनाज एकेडेमीका कार्यकारी निर्देशक महेश विष्टको सह–अध्यक्षतामा सञ्चालन हुनेछ।

सम्मेलनमा कैलाली, कञ्चनपुर र दार्चुलाका गरी १५ विद्यालयका १२० विद्यार्थी (प्रस्तुतकर्ता तथा अवलोकनकर्ता), २५ जना शिक्षक, विभिन्न विद्यालयका प्राचार्य तथा शिक्षा विज्ञहरूको सहभागिता रहने आयोजकले बताए।

एसक्यूसी विद्यार्थीलाई सर्वांगीण सीपयुक्त बनाउने उद्देश्यले सन् २००५ देखि नेपालका विभिन्न शैक्षिक संस्थामा प्रयोग हुँदै आएको एक महत्वपूर्ण शिक्षामूलक कार्यक्रम हो। क्वेस्ट नेपालअन्तर्गत सञ्चालन भइरहेको यो कार्यक्रम प्रभावकारी र अनुशासित विद्यार्थी उत्पादन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ।

हाल नेपालभर ३० भन्दा बढी हबमार्फत ३०० भन्दा बढी विद्यालयका विद्यार्थीहरू एसक्यूसी गतिविधिमा सहभागी हुँदै आएका छन्। हाल मुलुकभर एक सय भन्दा बढी विद्यालयमा यसको पाठ्यक्रम विकाश केन्द्रमार्फत स्वीकृत भई पाठ्यपुस्तकसमेत प्रयोगमा छन्।

एसक्यूसी अवधारणा नेपालमा सन् १९९९ मा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक दिनेश प्रसाद चापागाईंद्वारा ल्याइएको मानिन्छ। यसको मूल अवधारणा भने सन् १९६२ मा जापानको औद्योगिक क्षेत्रमा गुणस्तर सुधारका लागि प्रयोगमा आएको थियो।

वार्षिक रूपमा आयोजना हुने सम्मेलनमार्फत विद्यार्थीहरूले ६ महिनासम्म विद्यालयभित्र पहिचान, विश्लेषण र समाधान गरेको समस्याको विस्तृत प्रतिवेदन प्रस्तुत गर्छन्।

कार्यक्रममा सहभागीहरूले समूह विश्लेषण, प्रस्तुतीकरण, चर्चाविमर्श, सहकार्य, सिर्जनशीलता, संचारकौशलदेखि नेतृत्व क्षमतासम्मका विभिन्न सीप सिक्ने अवसर पाउँछन्। एसक्यूसीको अभ्यासले विद्यार्थीसँगै शिक्षक–विद्यार्थी सम्बन्ध सुधार, विद्यालयमा सहकार्यको वातावरण निर्माण, जीवनपयोगी सीप विकास तथा चरित्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकहरूको भनाइ छ।

पत्रकार सम्मेलनमा प्रस्तुत जानकारीअनुसार, आगामी सम्मेलन प्रभावकारी ढंगले सम्पन्न गर्न सबै तयारी पूरा भइसकेको र सहभागी शिक्षालय, विद्यार्थी, शिक्षक तथा अभिभावकलाई हार्दिक स्वागत गरिने जनाइएको छ।

Deep Jyoti Pustak psl
Loading...