अत्तरिया : कैलालीको अत्तरियामा सृजनशील गोदावरी साँस्कृतिक महोत्सव हुने भएको छ । पुस ९ देखि १९ गते सम्म सृजनशील युवा क्लबको आयोजनामा महोत्सव हुन लागेको हो ।
आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा महोत्सव सञ्चालन हुने जनाएको छ ।
क्लबका अध्यक्ष नर बहादुर राईले २०६६ सालदेखि सृजनशील युवा क्लब आयोजना गर्दै आएको महोत्सव २०७२ देखि अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेपनि पछिल्लो समय महोत्सव रोकिएपछि पुन:क्लबले नै आयोजना गर्न लागिएको बताए ।

महोत्सवमा विभिन्न व्यावसायिक स्टलसँगै कृषि तथा पर्यटन सम्बन्धी स्टल पनि रहनेछन् । अध्यक्ष राईका अनुसार महोत्सव आयोजना गर्न करिब ५० लाख रुपैयाँ लगानी लाग्नेछ ।
महोत्सव आयोजनाका लागि अत्तरिया उद्योग वाणिज्य संघ सँग पनि समन्वय गरेको बताउदै अध्यक्ष राईले महोत्सव सम्पन्न गर्न आ-आफ्नो क्षेत्रबाट सबैले सहयोग गरिदिन आग्रह गरे ।
उनले मुख्य प्रायोजक र प्रायोजकहरुको भने अहिलेनै टुंगो नलागेको तर विभिन्न संस्था र व्यवसायीसँग छलफल भईरहेको बताए । महोत्सवमा स्थानिय स्तरका कलाकार र प्रतिभाहरुलाई बिशेष स्थान दिनुका साथै राष्ट्रिय कलाकारको पनि बेजोड प्रस्तुती रहने जनाईएको छ । साथै कलासँस्कृति झल्किने सामग्रीहरु प्रस्तुत गरिने भएको छ ।
महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकटदर तोकिएको छ । महोत्सवले स्थानीय पर्यटन, व्यापार र संस्कृतिलाई प्रवर्द्धन गर्ने आयोजकले विश्वास लिएको छ ।