कञ्चनपुरको बेलौरीमा खेलाडीमाथि कुटपिट गर्ने चार जनाविरुद्ध किटानी जाहेरी

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा जारी ‘वडा स्तरीय मेयर फुटबल’ प्रतियोगितामा खेलका क्रममा खेलाडीमाथि भएको कुटपिटप्रति किटानी जाहेरी दर्ता गरिएको छ।

गत बिहीबार पहिलो सेमिफाइनल खेलका बीच सामान्य विवाद बढ्दै जाँदा वडा १० का खेलाडी करन पालमाथि वडा १ का खेलाडी तथा समर्थकहरूले सामूहिक रूपमा कुटपिट गरेका थिए। गम्भीर घाइते बनेका पालको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

चिकित्सकका अनुसार उनको नाकका चार हड्डी भाँचिनुका साथै आँखा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। घटनामा संलग्न चार जनामाथि पालका परिवारले किटानी जाहेरी दिएका छन् र उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

प्रहरी निरीक्षक कमल चौधरीका अनुसार घटनापछि स्थिति तनावग्रस्त बन्दै गएकाले थप हिंसा नबढोस् भन्न प्रहरी तैनाथ गरिएको थियो। वडा नम्बर १० खेलकुद विकास समितिले दोषीमाथि कडा कारबाहीको माग गर्दै घाइतेको उपचार खर्च तथा जिम्मेवारी बेलौरी खेलकुद नगर विकास समितिले वहन गर्नुपर्ने माग राखेको छ।

मंसिर १५ देखि २० गतेसम्म चल्ने प्रतियोगिताको सेमिफाइनल खेलमा घटना भएपछि खेल स्थगित गरिएको छ। घाइतेको उपचारपछि खेल पुनः सञ्चालन गर्ने विषयमा छलफल हुने आयोजक समितिले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...