कैलालीको अत्तरियामा श्रम संस्कृति पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना

अत्तरिया : कैलालीको अत्तरियामा श्रम संस्कृति पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा आएको छ।

शुक्रबार पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज महेन्द्र पुन मगरले पार्टीको प्रदेश कार्यालय स्थापना भएको जानकारी दिए।

उनका अनुसार सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा संगठन विस्तारको काम तीव्र रूपमा भइरहेको छ। यी तीन जिल्लामा संगठन विस्तारको कार्य जारी रहेको र बाँकी जिल्लाहरूमा पनि केही दिनभित्रै संगठन विस्तारको अभियान सुरु गरिने पुनले बताए।

पार्टीको उद्देश्यबारे स्पष्ट धारणा राख्दै पुनले भने, “हामी कसैलाई आरोप–आक्षेप लगाउन होइन, काम गर्न आएका हौँ। काम गरेर नै देखाउँछौँ।”

उनले छिट्टै पार्टी कार्यालयको औपचारिक उद्घाटन गरिने र सुदूरपश्चिम प्रदेशमै बृहत आमसभा आयोजना गरिने जानकारी पनि दिए। पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ सुदूरपश्चिम आउने दिन कार्यालय उद्घाटन र आमसभाको आयोजना गरिने पुनले बताए।

श्रम संस्कृति पार्टीले श्रमिकको सम्मान, श्रमको मूल्य र काममुखी राजनीतिलाई प्राथमिकतामा राख्दै संगठन विस्तारलाई तीव्र बनाइरहेको जनाएको छ।

Loading...