अत्तरियामा भोलीबाट सुरु हुने सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको तयारी पुरा

नगरप्रमुख भट्टले उद्घाटन गर्ने

अत्तरिया : कैलालीको अत्तरियामा भोलिदेखि सुरु हुने सृजनशिल गोदावरी सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । आयोजक सृजनशिल युवा क्लबले आज पत्रकार सम्मेलन गर्दै महोत्सवको सबै तयारी पुरा भएको जनाएको हो ।

क्लबका अध्यक्ष नर बहादुर राईले भोलि पुस ९ गते देखि १९ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको र शृङ्गारपटारको काम मात्रै बाकी रहेको बताए । उनले भोलि बिहान १० बजे महोत्सव स्थलबाट बजारमा र्याली निकालिने र र्याली पश्चात गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले महोत्सवको उद्धघाटन गर्ने कार्यक्रम रहेको बताए ।

अध्यक्ष राईले महोत्सव सफल पार्नको लागि विभिन्न समितिहरु मार्फत व्यवस्थापन भईरहेको बताएका छन् । महोत्सवमा १८० स्टलहरु रहने र सबै बुक भइसकेको उनले बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु प्रस्तुत गरिने जनाईएको छ ।

अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १ सय रुपैयाँ टिकट दर तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निस्शुल्क गरिएको छ । महोत्सवमा विक्री हुने प्रत्येक टिकटको ५ प्रतिशत अनाथ बालबालिकालाई सहयोग गर्ने र महोत्सवबाट भएको नाफा रकमबाट पनि सामाजिक काम गरिने अध्यक्ष राईले बताएका छन् । उनले क्लबले विगतदेखि सामाजिक काम, खेलकुदका कामहरु अघि बढाउदै आएको बताए ।

महोत्सवको सुरक्षाको लागि क्लबका युवाहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी सँग समन्वयन गरिएको उनले बताए । नयाँ ठाउँमा महोत्सव स्थल तयार गर्न आफूहरू सफल भएको बताउदै अध्यक्ष राईले महोत्सव सम्पन्न गर्न आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । जसमा एक करोड कारोबार हुने अपेक्षा लिइएको छ । महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको अध्यक्ष राईले बताएका छन् ।

Loading...