अत्तरिया : कैलालीको अत्तरियामा आजदेखि सृजनशिल गोदावरी सांस्कृतिक महोत्सव सुरु हुने भएको छ । आयोजक सृजनशिल युवा क्लबका अध्यक्ष नर बहादुर राईले आज पुस ९ गते देखि १९ गते सम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको बताएका छन् । उनले बाकी रहेको शृङ्गारपटारको काम राति नै सकिएको बताए ।
आज बिहान ११ बजे महोत्सव स्थलबाट बजारमा र्याली निकालिने र र्याली पश्चात गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले महोत्सवको उद्धघाटन गर्ने कार्यक्रम रहेको बताए । अध्यक्ष राईले महोत्सव सफल पार्नको लागि विभिन्न समितिहरु मार्फत व्यवस्थापन भएको बताएका छन् । महोत्सवमा १८० स्टलहरु रहने र सबै बुक भइसकेको उनले बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु प्रस्तुत गरिने जनाईएको छ ।
अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १ सय रुपैयाँ टिकट दर तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निस्शुल्क गरिएको छ । महोत्सवमा विक्री हुने प्रत्येक टिकटको ५ प्रतिशत अनाथ बालबालिकालाई सहयोग गर्ने र महोत्सवबाट भएको नाफा रकमबाट पनि सामाजिक काम गरिने अध्यक्ष राईले बताएका छन् । उनले क्लबले विगतदेखि सामाजिक काम, खेलकुदका कामहरु अघि बढाउदै आएको बताए ।
महोत्सवको सुरक्षाको लागि क्लबका युवाहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी सँग समन्वयन गरिएको उनले बताए । नयाँ ठाउँमा महोत्सव स्थल तयार गर्न आफूहरू सफल भएको बताउदै अध्यक्ष राईले महोत्सव सम्पन्न गर्न आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । जसमा एक करोड कारोबार हुने अपेक्षा लिइएको छ । महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको अध्यक्ष राईले बताएका छन् ।
यस पटकको महोत्सवको स्थान पनि परिवर्तन भएको छ । यसअघि अत्तरियामा रहेको लामिताल क्षेत्रमा महोत्सव आयोजना हुने गरेकोमा यस वर्ष लामितालको दक्षिण पट्टि रहेको सुरक्षा सामुदायिक वनको खुला चौरमा महोत्सव सञ्चालन हुने भएको हो ।
अत्तरियामा २ वर्षको अन्तरालपछि महोत्सव आयोजना हुन लागेको छ । २०६७ सालदेखि अत्तरियामा आयोजना हुँदै आएको महोत्सव गत वर्ष रोकिएको भए पनि यस वर्ष नयाँ आयोजकले नयाँ व्यवस्थापनका साथ ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ आयोजना गर्न लागेको छ । २०६७ देखि २०१७१ सम्म अत्तरियामा महोत्सव आयोजना गरिसकेको न्यु सृजनशील युवा क्लबको आयोजनामा आजदेखि महोत्सव सुरु हुन लागेको हो ।
२०७२ देखि २०८० सम्म भने अत्तरिया उद्योग वाणिज्य संघले अत्तरियामा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ आयोजना गरेको थियो । गत वर्ष उद्योग वाणिज्य संघमा भएको आन्तरिक विवादका कारण महोत्सव हुन सकेको थिएन । यस वर्ष पनि महोत्सव आयोजना हुने अवस्था नभएपछि क्लबले महोत्सव आयोजना गर्न लागेको हो ।
