अत्तरिया महोत्सवमा आज गायक चक्र बम र गायिका रचना रिमालले तताए माहोल

अत्तरिया : कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी साँस्कृतिक महोत्सवमा आज (मंगलबार) चर्चित गायक चक्र बम र गायिका रचना रिमालले दर्शकहरुको बाक्लो उपस्थितिमा बेजोड प्रस्तुतीका साथ माहोल तताएका छन् ।

गायक बम र गायिका रिमालले आफ्नो प्रस्तुतीमा दर्शकलाई भरपुर मनोरञ्जन दिदैँ नचाएका हुन् । आज महोत्सवमा चर्चित गायक तथा मोडल चक्र बम, लोकप्रिय गायिका रचना रिमाल, नायक प्रभात पाल ठकुरी, अमर राना लगायत कलाकारहरूले प्रस्तुति दिएर दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।

महोत्सवमा आज करिब १० हजारभन्दा बढी दर्शकहरुले अवलोकन गरेको टिकट व्यवस्थापन संयोजक छबिन्द्र नाथ योगिले जानकारी दिएका छन् । आज सार्वजनिक बिदा तथा सुदूरपश्चिममा मनाइने पुस १५ पनि परेको हुँदा महोत्सव अवलोकन गर्नेहरूको भिड बढ्को थियो ।

यस्तै महोत्सवमा भोली (बुधबार) चर्चित गायक टंक तिमिल्सिना, गायिका इश्बल सञ्ज्याल, गायक मान जोरा, रेस विसी, डान्सर पूजा मगर तथा हास्य कलाकार अशोक कुँवरको विशेष प्रस्तुति रहने आयोजक सृजनशील युवा क्लबले जानकारी दिएको छ ।

महोत्सव अवधिभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, स्थानीय उत्पादन, हस्तकला र कृषि प्रदर्शनी, सांस्कृतिक थारु गाउँ प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धन सम्बन्धी सूचना स्टल, समुदायमैत्री मनोरञ्जन कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

पौष ९ गतेदेखी सुरु भएको महोत्सव पौष १९ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा १८० स्टल रहेका छन् । अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १ सय रुपैयाँ टिकट दर तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिएको छ ।

महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको न्यु सृजनशिल युवा क्लबका अध्यक्ष नर बहादुर राईले बताएका छन् ।

Deep Jyoti Pustak psl
Loading...