अत्तरियामा जारी सृजनशील गोदावरी साँस्कृतिक महोत्सव दुई दिन थप 

अत्तरिया : कैलालीको अत्तरियामा सञ्चालन भइरहेको सृजनशील गोदावरी साँस्कृतिक महोत्सवको अवधि दुईदिन थप गरिएको छ । पौष ९ गतेबाट सुरु भएको महोत्सव यसअघि १९ गतेसम्म सञ्चालन हुने भनिएको थियो अब पौष २१ गतेसम्म सञ्चालन हुने भएको हो ।

दर्शकहरुको उत्साहजनक सहभागिताका कारण महोत्सवको अवधि दुई दिन थप गरिएको महोत्सव संयोजक नर बहादुर राईले बताएका छन् । उनले महोत्सवप्रति दर्शकको माया,सद्भाव र उल्लेखनीय सहभागिता देखिएपछि अवधि थप गरिएको बताए । परिवारसहित महोत्सव अवलोकन गर्न आउने दर्शकको संख्या दिन प्रतिदिन बढ्दै गएको र त्यसले महोत्सवको वातावरण अझै उल्लासमय बनेको संयोजक राईले बताए ।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति, स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, सांस्कृतिक थारु गाउँ प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धन सम्बन्धी सूचना स्टलहरू तथा समुदायमैत्री मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । 

महोत्सवमा १८० स्टल रहेका छन् । अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा सञ्चालन भईरहेको महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १ सय रुपैयाँ टिकट दर तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिएको छ ।

Loading...