डडेलधुरा : डडेलधुरा स्थित स्याउले-अनारखोली सडक खण्डअन्तर्गत खसरेखान क्षेत्रमा सडक सुधार तथा चौडा गर्ने कार्यका लागि सवारी आवागमन आंशिक रूपमा बन्द गरिने भएको छ । सडकको खसरेखान भागमा आवश्यक रोड कटिङ गर्नुपर्ने भएकाले यात्रु र सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै अस्थायी रूपमा सडक बन्द गर्ने निर्णय गरिएको हो ।
डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीका अनुसार आगामी पुस १९ गते आज देखि माघ १९ गतेसम्म एक महिनाको अवधिमा प्रत्येक दिन दुई पटक सडक बन्द गरिनेछ । यस अवधिमा बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ८ बजेसम्म स्याउले-अनारखोली सडक खण्ड अन्तर्गत पर्ने खसरेखानमा सडक पूर्णरूपमा बन्द रहनेछ । यस्तै यही समयमा पोखरा-बेलापुर सडक पनि बन्द गरिने छ । बाँकी समयमा भने सवारी आवागमन यथावत् सञ्चालन गरिने उनले जानकारी दिए ।
खसरेखान क्षेत्रमा सडक साँघुरो, घुम्ती धेरै तथा जोखिमसमेत रहेकाले सडक चौडा र सुधार नगरी सुरक्षित आवागमन सम्भव नभएको प्रशासनको भनाइ छ। त्यही कारण निर्माण कार्यका क्रममा ठूला मेसिन र उपकरण प्रयोग गर्नुपर्ने भएकाले सवारी साधन सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै निश्चित समय सडक बन्द गर्ने निर्णय गरिएको हो ।
स्याउले-अनारखोली सडक खण्ड सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लासँग जोडिने प्रमुख राजमार्ग हो । यही सडक प्रयोग गरेर सुदूरपश्चिमका तीन जिल्ला दार्चुला, बैतडी र बझाङमा दैनिक रूपमा यात्रु तथा मालवाहक सवारी साधन आवतजावत गर्ने गर्छन् । सडक बन्द हुँदा ती जिल्लातर्फ जाने तथा त्यहाँबाट आउने यात्रुहरूलाई केही असहजता हुने भए पनि दीर्घकालीन रूपमा सुरक्षित र सहज सडक निर्माणका लागि अस्थायी असुविधा सहनु आवश्यक रहेको प्रशासनको भनाइ छ ।
