गेटा शहीद दशरथ चन्द विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त

अत्तरिया : कैलालीको गेटामा रहेको सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ । मंगलबार शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालय सभाको दोस्रो बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको हो ।

शिक्षा मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सभाले उपकुलपतिमा प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिष्ट्रारमा डाक्टर खेमराज जोशीलाई नियुक्त गरेको विश्वबिद्यालय सभा सदस्य तथा गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।

यसअघि विश्वविद्यालयको पहिलो सभाले उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समिति गठन गरेको थियो । समितिले गरेको सिफारिसका आधारमा दोस्रो सभाले उपकुलपति तथा रजिष्ट्रार नियुक्त गरेको हो ।

सिफारिस समितिले उपकुलपतिका लागि एक जना र रजिष्ट्रार लागि तीन जनाको नाम सिफारिस गरेको थियो । रजिष्ट्रार लागि सिफारिस गरिएको दुई जनाको नाम वैकल्पिक सूचीमा राखिएको छ ।

सिफारिस समितिले उपकुलपतिका लागि आवेदन नपरेपछि तेस्रो पटक सूचना जारी गरेपछि मात्रै दुई जनाको आवेदन परेको थियो । सिफारिस समितिले उपकुलपतिका लागि कात्तिक १६ गते प्रथम पटक र कात्तिक ३० गते दोस्रो पटक र मङ्सिर २३ गते तेस्रो पटक आवेदन माग गरेको थियो । रजिष्ट्रारमा भने पहिलो पटकमै १० जनाको आवेदन परेको थियो ।

विश्वबिद्यालय सभा सदस्य तथा नगर प्रमुख भट्टले समयमै जिम्मेवारी पूरा गरेको सिफारिस समितिप्रति बैठकले धन्यवाद समेत व्यक्त गरेको बताए । उनले आगामी दिनमा विश्वविद्यालयसम्बन्धी बैठकहरू गेटास्थित विश्वविद्यालय परिसरमै सञ्चालन गरिने बताएका छन् । समयमै नयाँ नेतृत्वको टिमलाई विश्वविद्यालय हस्तान्तरण गरिनुका साथै ३ सय शय्याको अस्पताल सञ्चालन गरी एमविविएस अध्ययन कार्यक्रम पनि चाँडै सञ्चालनमा ल्याइने उनले बताएका छन् ।

Loading...