अत्तरिया : कैलालीको अत्तरियामा जारी करियर स्टेशन पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिताको उपाधीका लागि अनुपमा अलराउन्डर्स र कैनोडा लायन्स भिड्ने भएका छन । बिहिबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा गेटा रोयल्सलाई पराजित गर्दै कैनोडाले सातौ संस्करणको भेट्रान्स कपको फाईनलमा अनुपमासँगको भेट पक्का गरेको हो ।
दोस्रो क्वालिफायर खेलमा गेटालाई कैनोडाले ४० रनले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको कैनोडाले २० ओभरको खेलमा १९ दशमलव १ ओभर खेलेर सबै विकेट गुमाउदै १३६ रन मात्रै बनाउन सक्यो । उसका लागि ओपनर लोकेन्द्र सिँ थापाले २४ बलमा ४८ रनको योगदान दिए । सो पारीमा उनले २ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यसबाहेक छैटौ नम्बरमा ब्याटिङ गर्न आएका खेलाडी सन्जु चन्दले २३ बलमा ३१ रन बनाए । बलिङमा गेटाका विपिन चन्द, नरेन्द्र चन्द, सन्तोष भट्ट र हरिष कार्कीले २\२ विकेट लिए । कैनोडाले १३ रन अतिरिक्त पाएको थियो । जसमध्ये १२ रन वाईडको मात्रै थियो ।
१३७ रनको सामान्य लक्ष्य लिएर मैदानम ब्याटिङका लागि उत्रिएको गेटा रोयल्स १७ दशमलव २ ओभर खेल्दै ९६ रनमा अलआउट भयो । गेटाका तर्फबाट पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका खेलाडी हरिष कार्कीले ४४ महत्वपुर्ण रन बनाएपनि टिमलाई जिताउन भने त्यो पर्याप्त भएन । त्यसबाहेक प्रेम महराले १३ र निरज चन्दले ११ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कैनोडाका बलरहरुले किफायती बलिङ गरेका थिए । जसमा चित्र भुषण चन्द र सुरेश सिँ पुजाराको बलिङ महत्वपुर्ण रह्यो । दुवै खेलाडीले ३\३ विकेट लिए। चन्दले ३ दशमलव २ ओभरमा १६ रन खर्चेर महत्वपुर्ण ३ विकेट लिए भने पुजाराले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । त्यसबाहेक सन्जु चन्दले ४ ओभरमा मात्र १४ रन दिएर २ विकेट लिए । गेटाले पनि अतिरिक्त रनका रुपमा १० रन पाएको थियो । जसमा २ बाई, १ लेगबाई र ७ वाईड थिए ।
अंक तालिकामा शिर्ष स्थानमा रहेको गेटा रोयल्स पहिलो क्वालिफायर खेलमा अनुपमा अलराउन्डर्स सँग सुपर ओभरमा पराजित भएको थियो । कैनोडाले भने पहिलो इलिमिनेटर खेलमा अत्तरिया सिटीलाई पराजित गरेको थियो । प्रतियोगिताको फाईनल खेल शनिबार हुने आयोजक पिएफए युवा क्लबले जनाएको छ ।
