धनगढीको सीप तथा रोजगार मेलामा ६ गुणा बढीको आवेदन

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सीप तथा रोजगार मेलामा तालिम लिनेहरूको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्षमा ६ सय जनालाई तालिम दिन आयोजना गरिएको मेलामा ३ हजार ८०२ जनाले आवेदन दिएका छन् । जुन माग गरिएको भन्दा ६ गुणा बढी हो। तालिममा सहभागीताका लागि २ हजार २१२ महिला, १ हजार ५८२ जना पुरुष र ८ जना अन्यको आवेदन परेको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले सीप तथा रोजगार मेलामा सहभागिताका लागि मङ्सिर १७ गते देखि पुस १६ गते सम्म आवेदन माग गरेको थियो । जसमा सुदूरपश्चिमका ८३ वटा पालिकाबाट आवेदन परेको नगरपालिकाका रोजगार संयोजक चन्द्र बहादुर महराले बताए । ‘तालिममा आवेदन परेका ८३ वटै पालिकाको प्रतिनिधित्व हुने गरी हामीले कोटा निर्धारण गरेका छौ’ उनले भने ‘छनोट गरेर पनि सहभागी हुन नआएमा भने हामीलेवेटिङ लिस्टमा भएकाबाट पूर्ति गर्ने छौ ।’ उनले आवश्यक सङ्ख्याको तीन गुणा सर्ट लिस्टमा राखेर अन्तरवार्ता लिइएको बताए । उनले बेत वास तालिम र वेटर तालिम बाहेक सबैमा माग गरिएको भन्दा बढी आवेदन परेको बताए । तालिमका लागि ब्युटिसियनमा सबैभन्दा बढी ५५६ जना फर्निचरमा सबैभन्दा कम १९ जनाको आवेदन परेको उनले बताए । जिल्लागत हिसाबमा कैलालीबाट धेरै र बाजुराबाट कम आवेदन परेको छ ।

उनले तालिममा सहभागी हुन इच्छुकबाट सर्ट लिस्ट गरेर सोमबार र मंगलबार अन्तरवार्ता लिने काम पनि सकिएको बताए । उनले केही टाढाबाट आउन नसकेकाहरूका लागि भने बुधवार पनि अन्तरवार्ता लिइने बताए । उनले तालिम प्रदायक छनोट गर्ने काम सकिएको र, इभेन्ट म्यानेजमेन्टको काम, प्रयोगात्मक, सैद्धान्तिक कक्षा बनाउने काम, ल्याब स्टल गर्ने काम अन्तिम चरणमा पुगेको बताए ।

उनले सीप तथा रोजगार मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले माघ ५ गते उद्घाटन गर्ने बताए । उनले तालिमको उद्घाटनमा सुदूरपश्चिम प्रदेशका ८८ वटै पालिकाको प्रतिनिधित्व गराउने तयारी गरिएको बताए ।

उपमहानगरपालिकाले माघ ५ गते तालिमको उद्घाटन गरेर माघ ६ गते देखि ७ वटा क्षेत्रमा २२ वटा तालिम सञ्चालन गर्दै छ । जसअन्तर्गत अटोमोबाईल क्षेत्रमा इलेक्ट्रिकल कार र मोटरसाइकल, स्कुटर मर्मत तालिम, निर्माण क्षेत्रमा फर्निचर, प्लम्बिङ, बिल्डिङ इलेक्ट्रिकल वायरिङ, आतिथ्य सत्कार क्षेत्रमा कफि वारिस्ता, फास्ट फुड/कुक, वेटर/वेट्रेस, बेकरी तालिम, इलेक्ट्रिकल तथा मेकानिकल क्षेत्रमा बेल्डिङ्ग, रिफ्रिजेनेटर एसी प्राविधिक, सूचना प्रविधि क्षेत्रमा डिजिटल मार्केटिङ, इलेकट्रोनिक्स (मोबाइल, सिसिटिभी), फोटोग्राफी तथा ड्रोन अपरेसन, शैक्षिक तथा सेवा क्षेत्रमा ईसीडी शिक्षक, पुरोहित लेखा व्यवस्थापन, एडभान्स ब्युटिसियन, हेयर कटिङ र आर्ट क्राफ्ट डिजाइनिङ क्षेत्रमा बुटिक तथा कडाइ, सांस्कृतिक पोसाक निर्माण, बेत बास क्राफ्ट हस्तकला सामग्रीका तालिम रहेका छन् । एक महिना सञ्चालन हुने तालिम १८० घण्टाको पाठ्यक्रमका आधारमा हुने जनाइएको छ ।

तालिम पश्चात् रोजगार कार्यशाला गरेर २ दिनको रोजगार मेला आयोजना गरिने रोजगार संयोजक महराले बताए । धनगढी उपमहानगरपालिकाले गत वर्ष देखि सीप तथा रोजगार मेला आयोजना गर्दै आएको छ ।

Deep Jyoti Pustak psl
Loading...