अत्तरिया : कैलालीको गोदावरी धाममा माघ १ गते आयोजना हुने माघे संक्रान्ति मेलाका लागि निःशुल्क बसको व्यवस्था गरिने भएको छ । गोदावरी नगरपालिकाले माघे संक्रान्ति तथा बाह्रराशी दर्शन मकर मेलामा जाने श्रद्धालु भक्तजनहरूको सहजताका लागि निःशुल्क बसको व्यवस्था गर्न लागेको हो ।
आज (बुधवार) पत्रकार सम्मेलनको आयोजना गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले माघे संक्रान्तिका दिन गोदावरी धाममा स्नानका लागि जाने श्रद्दालु भक्तजनहरुको घुईचो लाग्ने भएकाले नगरपालिकाले एक दिनका लागि निःशुल्क ४ वटा बसको व्यवस्था गरिएको बताए । बस सेवा अत्तरिया चोकबाट बिहान ४ बजेदेखी गोदावरी धाम सम्म सञ्चालन गरिने जनाईएको छ ।
नगरपालीकाले जाडोको समय भएकाले राति बस्ने श्रद्दालु भक्तजनहरुको लागि आगो ताप्न दाउराका साथै घुम्ती शौचालयको पनि व्यवस्था गरेको छ । त्यस्तै धाममा एउटा स्वास्थ्य हेल्प डेस्कको पनि स्थापना गरिएको नगरप्रमुख भट्टले बताएका छन् ।
माघे संक्रान्तिको पहिलो दिन गोदावरीमा जाने भक्तजनहरूको भीड लाग्ने गर्दछ । गत वर्ष पनि नगरपालिकाले माघे संक्रान्ति मेलाको पहिलो दिन बसहरूको व्यवस्था गरेको थियो ।
