अत्तरिया : कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले आजबाट १४औ वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु गरेको छ। विद्यालयले कक्षा नर्सरी देखी १२ सम्मका विद्यार्थीहरुलाई विभाजन गरी चार चरणमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन लागेको हो ।
विद्यालयले पहिलो चरणको कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरु तथा अभिभावकहरुलाई समावेश गरेर आयोजना गरिएको वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि एन जोशी प्रमुख अतिथि रहेका थिए भने विभिन्न विद्यालयका शिक्षकहरुको पनि सहभागिता रहेको थियो।

विद्यालयका सञ्चालक विर बहादुर कडायतले विद्यार्थीहरुले खुलेर कार्यक्रममा भाग लिन पाउन र राम्रोसँग प्रतिभा देखाउन पाउन भन्ने उद्देश्य राखेर चार चरणमा वार्षिकोत्सव आयोजना गरिएको बताए । उनले विद्यालयमा करिब २ हजार १ सयको हाराहारीमा विद्यार्थी रहेकाले एकै पटक वार्षिकोत्सव आयोजना गर्दा सबैले आफ्नो प्रतिभा देखाउने मौका नपाउने गरेको बताए । विद्यालयको वार्षिकोत्सव विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा देखाउने अवसरको रुपमा रहने समेत उनले बताए ।
विद्यालयका सञ्चालक कडायतका अनुसार पहिलो चरणमा कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरुको सहभागितामा आयोजना गरिएको छ भने पनि दोस्रो चरणमा कक्षा ५ देखी ७ सम्मका विद्यार्थीहरुलाई सहभागी गराईने छ । उनले बुधबार सम्पन्न पहिलो चरणको कार्यक्रममा करिब ५५२ जना विद्यार्थीहरु सहभागी रहेको बताए । जसमा विभिन्न क्रियाकलापका ८४४ मेडलहरु विद्यार्थीलाई वितरण गरिएको थियो । पहिलो चरणको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुका १३ वटा नृत्य रहेका थिए भने ५ वटा गीतहरु रहेका थिए । कार्यक्रममा कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरुले विभिन्न खेलकुद प्रतियोगिताहरुमा हासिल गरेको उपलब्धीस्वरुप मेडल तथा प्रमाणपत्रहरु वितरण गरिएको थियो । त्यतिमात्रै नभई कार्यक्रममा विद्यालयका उत्कृष्ट पुर्व विद्यार्थीहरु र शिक्षकहरुलाई पनि सम्मानित गरिएको थियो ।
विद्यालयले दोस्रो चरणको वार्षिकोत्सव कार्यक्रम यही माघ ४ गते आयोजना गर्ने जनाएको छ । जसमा कक्षा ५ देखी ७ सम्मका विद्यार्थीहरु मात्रै सहभागी हुन पाउने विद्यालयका सञ्चालक कडायतले जानकारी दिए । त्यसपश्चात तेस्रो र चौथो चरणमा कक्षा नर्सरी देखी ४ सम्मका विद्यार्थीहरुलाई सहभागी गराएर फागुनमा वार्षिकोत्सव आयोजना गर्ने योजना रहेको कडायतले बताए ।
२०६७ सालमा स्थापना भएको विद्यालयमा हाल करिब २ हजार १ सयको हाराहारीमा विद्यार्थी रहेका छन् ।