अत्तरिया : कैलाली क्षेत्र नं. ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवारका रुपमा सिफारिस भएका युवा नेता भुवन महरा बलियो दावेदारका रुपमा देखिएका छन । कांग्रेस सभापति गगन थापाले देशभरबाट युवालाई निर्वाचनमा समेट्ने निर्णय गरेसँगै कैलालीबाट महराको दावेदारी अझै बलियो बनेको हो ।
आसन्न फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नं. ४ बाट महरासहित ७ जनाको नाम सिफारिस गरिएको थियो । यसअघि सम्म सशक्त दावेदारी प्रस्तुत गरिरहेका महराले पार्टीले युवा समेट्ने निर्णय गरेसँगै आफ्नो दावेदारी अझै बलियो बनेको बताएका छन ।
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका लगातार दुई कार्यकाल स्ववियु सभापति रहिसकेका महरा युवाहरूमा चर्चित छन । क्षेत्र नं. ४ मा युवाहरुमाझ भिजेका उनि सबै युवाहरुलाई एकताबद्ध बनाएर लैजान सक्ने खुबी भएका युवा हुन । जेन जी आन्दोलन पछि देशमा युवा नेतृत्वको खोजी भैरहेका बेला पार्टीले पनि देशभरबाट २० प्रतिशत युवा समेट्ने निर्णय गरेको उनको भनाई छ ।
उनले पार्टीको निर्णय अनुसार सुदूरपश्चिममा युवा नेतृत्वका रुपमा सबैभन्दा बलियो र मुख्य दावेदारका रुपमा आफू नै रहेको समेत स्पष्ट पारे । कांग्रेस विभाजित बनेका बेला पार्टीमा सबैलाई एकताबद्ध बनाएर मात्रै चुनावमा होमिने बताए । ‘पार्टीले निर्वाचनमा युवा समेट्ने निर्णय गरेसँगै प्रदेशभरमै मेरो उम्मेदवारी बलियो बनेको छ’ उनले भने ‘तर अहिले पार्टी विभाजनको अवस्थामा छ, पार्टीलाई एकताबद्ध बनाएर म चुनावमा होमिन्छु ।’ उनले जेन जी को आकांक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा अनुसार अघि बढ्न कांग्रेस केन्द्रित रहने बताए ।
क्षेत्र नं. ४ मा महरालाई युवाहरुको समर्थन राम्रो छ । जेन जी आन्दोलन पछिको अवस्थाका कारण महरा निर्वाचनको बलियो उम्मेदवारका रुपमा देखिने निश्चितप्राय छ ।
