धनगढीः युवाहरुलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले सोमबारदेखि सिप तथा रोजगार मेला सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८३ स्थानीय तहबाट छनोट गरिएका करिब ६ सय प्रशिक्षार्थी मेलामा सहभागी भएका छन् । मेला ४० दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
मेलामा ६ वटा मुख्य विधाअन्तर्गत २२ वटा उपविधामा तालिम प्रदान गरिनेछ । अटोमोबाइल्स, निर्माण, आतिथ्य तथा सत्कार, इलेक्ट्रिकल तथा मेकानिकल, सूचना प्रविधि तथा शैक्षिक-सेवा, आर्ट क्राफ्ट र डिजाइनिङ विधामा तालिम सञ्चालन गरिएको छ । सोमबार आयोजित विशेष कार्यक्रमकाबीच मेलाको औपचारिक उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरुमा देशमै बस्न नसकिने मनोविज्ञान कसरी विकसित भयो भन्ने अहिलेको गम्भीर प्रश्न भएको बताए । उनले यही उकुसमुस अवस्थाबाट जेन्जी आन्दोलन उर्जाको विस्फोटका रुपमा देखिएको उल्लेख गर्दै अबको अर्को विस्फोट देशले धान्न नसक्ने चेतावनी दिए ।
मन्त्री भण्डारीले श्रमप्रतिको सामाजिक दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्या ए। समाजमा श्रमलाई ‘सरम’ का रुपमा हेर्ने गलत प्रवृत्ति रहेको भन्दै सुदूरपश्चिम र केन्द्रबीच भूगोलसँगै मनोविज्ञानको पनि दूरी रहेको बताए । विकास भाषणमा सीमित नभई देखिने र अनुभूत हुने गरी हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा उनले धनगढीको विकासमा नगरप्रमुख गोपाल हमालले गरेको पहलको प्रशंसा गरे। नगरप्रमुख हमालले विगतदेखि तालिमका नाममा ठूलो खर्च भए पनि धनगढीले परिणाममुखी र फरक अभ्यास गरिरहेको बताए। उनले तालिमपछि बजारको सुनिश्चितता हुने गरी कार्यक्रम सञ्चालनमा जोड दिएको स्पष्ट पारे ।
सोमवारबाट सुरू भएको मेलाको उद्घान सत्रमा सुदूरपश्चिमका विभिन्न ५५ स्थानीय तहका प्रमुख, उप-प्रमुख, अध्यक्ष र उपाध्यक्ष सहभागी भएका थिए । उनीहरूले सिप तथा रोजगार मेलाबाट युवाहरूले सिप सिकेर उक्त सिप स्वदेशमै प्रयोग गर्नुपर्ने बताएका छन् ।