अत्तरिया : कैलालीको गोदावरीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आइतबार बिहान गोदावरी नगरपालिका-८ स्थित शारदा विद्या निकेतनको से १ क ६०४ नम्बर बसको ठक्करबाट गोदावरी-८ स्थित शान्तिटोलका कृष्ण भुलका छोरा ३ वर्षीय नेहान्त भुलको मृत्यु भएको हो ।
उनीलाई सोही स्कुलमा अध्ययन गर्ने दिदीलाई छोड्न गएका बेला बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दका अनुसार बिहान मृतक बालकको दिदीलाई पुर्याउन आमा गएका बेला पछिपछि ती बालक पनि गएका र विद्यार्थी बोकेर बस अगाडी बढ्ने क्रममा बस सँगै ठोक्किएर बालक सडकमा खसेका थिए । कालोपत्रे गरेको सडकमा बालकको टाउको ठोक्किएको उनले बताए ।
उनले बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताए । बस सहित चालक वीर बहादुर विकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
