बझाङमा विद्यालय भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा

बझाङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको वित्थडचिर गाउँपालिका–९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन अवस्थाका प्रधानाध्यापकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विद्यालयको ३ तले १२ कोठे नमुना भवन निर्माण गर्दा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी सरकारी रकम हिनामिना गरेको भन्दै आयोगले बुधवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार विद्यालय व्यवस्थापन समिति र निर्माण पक्षको मिलेमतोमा फिल्डमा भएको कामभन्दा बढीको नापी किताब र बिल तयार पारी भुक्तानी लिएको पाइएको छ। न

भएको कामलाई पनि भएको भनी देखाइएको र सामाजिक सुरक्षा कर, बहाल कर लगायतका शीर्षकमा आपूर्तिकर्ताबाट कट्टा गर्नुपर्ने रकम समेत विद्यालयको आन्तरिक कोषबाट तिरेर राज्यलाई नोक्सानी पु¥याएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ।

मुद्दा दायर गरिएकाहरूमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रमेश बहादुर अधिकारी, प्रधानाध्यापक धन बहादुर विष्ट र लेखापाल हर्क बहादुर विष्ट रहेका छन्। उनीहरूविरुद्ध २६ लाख ५४ हजार ६८३ रुपैयाँ बिगो कायम गरिएको छ।

त्यस्तै, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र सव–इन्जिनियर किरण भण्डारीविरुद्ध २० लाख १ हजार ७७९ रुपैयाँ बिगो दाबी गर्दै कैद र जरिवानाको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

Deep Jyoti Pustak psl
Loading...