अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा न. १२, ओलानीस्थित ऐतिहासिक श्रीकृष्ण मन्दिरको निर्माण, संरक्षण तथा दीगो व्यवस्थापनका लागि आजबाट श्रीमद् भागवत ज्ञान–विज्ञान तथा धन्याञ्चल ज्ञान महायज्ञ औपचारिक रूपमा सुरु भएको छ।
महायज्ञ माघ २३ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने बताइएको छ। महायज्ञको कथा वाचन प्रख्यात कथा वाचक अच्युत शरण धिताल महाराजले गर्दै हुनुहुन्छ भने भागवत कथामार्फत धर्म, संस्कार, ज्ञान र मानवीय मूल्यको सन्देश प्रवाह गरिने आयोजकले बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले महायज्ञको उद्घाटन गर्दै मन्दिर निर्माण तथा व्यवस्थापनका लागि समुदायको एकता, सहयोग र समर्पण अत्यन्तै आवश्यक रहेको बताए।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष तेजराज अवस्थी, वडा नं. १२ का वडा अध्यक्ष भिम खड्का, वडा नं. ११ का वडा अध्यक्ष प्रेम सिंह बडैला, वडा सदस्यहरू, स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
आयोजकले मन्दिर निर्माण तथा निरन्तर सहयोग पु¥याउने सम्पूर्ण दाता महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दै सबै श्रद्धालु भक्तजनलाई महायज्ञमा उपस्थित भई श्रीमद् भागवत कथाबाट आध्यात्मिक लाभ लिन आग्रह गरेको छ।
