अत्तरियामा सेभ हाउस द्दारा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु, अक्षय कोष स्थापना मुख्य लक्ष्य
अत्तरिया : कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसको आयोजनामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। सेभ हाउसमा आश्रित बालबालिकाहरूको दीर्घकालीन संरक्षण र भविष्य सुनिश्चित गर्ने उद्देश्यले अक्षय कोष निर्माणका लागि महायज्ञ आयोजना गरिएको हो।
बालबालिकाको पालन–पोषणका लागि अक्षय कोष स्थापना गर्ने उदेश्यले आयोजित महायज्ञको पहिलो दिन आज कलश यात्रा पनि निकालिएको छ ।कलशयात्रामा विभिन्न संघ संस्थाका प्रतिनिधि, आमा समूह, विद्यालयहरु एवम् सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।
माघ २६ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने महायज्ञमा धार्मिक प्रवचन, कथा वाचन तथा विविध आध्यात्मिक कार्यक्रमहरू समावेश छन्। उद्घाटन समारोहमा प्रमुख अतिथीको रुपमा रहेका गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सेभ हाउसले समाजमा उदाहरणीय भूमिका खेलेको उल्लेख गर्नुभयो।
नगर प्रमुख भट्टले सबै श्रद्धालु, समाजसेवी र दाताहरूलाई महायज्ञमा सहभागी भई आध्यात्मिक लाभ लिनुका साथै सहयोग गर्न आग्रह गर्नुभयो। आयोजक संस्थाले महायज्ञबाट संकलित रकम बालबालिकाको शिक्षा, स्वास्थ्य र पालनपोषणमा खर्च गरिने जानकारी दिएको छ।
महायज्ञमा चर्चित कथा वाचिका सुमि मानवसहितको समूहले कथा प्रवचन गर्नेछन भने मूल पाठ पारायण, यज्ञ, होम तथा पूजा उपवाचक जनार्दन प्रसाद पन्तले सम्पन्न गर्नेछन्।
महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध, विवाहलगायत विभिन्न धार्मिक कार्यक्रमहरू पनि सञ्चालन गरिने आयोजकले जनाएको छ। सेभ हाउसमा हाल ४० जना अनाथ बालबालिका आश्रित रहेका छन् ।
