कञ्चनपुर : कञ्चनपुरको लालझाडी क्षेत्रबाट करिब ३ क्युन्टल अवैध रूपमा भातरबाट भित्र्याइएका बोइलर कुखुरा नियन्त्रणमा लिएको छ । कुखुरा, अण्डा तथा माछा व्यवसायीसंघ उपसमिती (शुक्लाफाँटा,लालझाडी र कृष्णपुर) कञ्चनपुरले सिमा सुरक्षा गुल्म हेडक्वाटर बेलौरीको सहयोगमा आज बिहान उक्त अवैध कुखुरा नियन्त्रणमा लिएको हो ।
संघका प्रतिनिधीहरुले आज बिहानै ३ बजेतिर अनुगमनका क्रममा लालझाडी गाउँपालिका-३ दोदानदीको पुल नजिकै बल्मीबाट सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी ल्याइएका करिब ३ क्युन्टल (३०० किलो) अवैध कुखुरा नियन्त्रणमा लिएर सिमा सुरक्षा गुल्म हेडक्वाटर बेलौरीलाई जिम्मा लगाएको उपसमितीका अध्यक्ष हर्क बमले जानकारी दिए ।
उनले सीमावर्ती क्षेत्रमा अबैध रुपमा दुई ओटा मोटरसाईकलमा ढुवानी गरिरहेको अवस्थामा फेला पारेको बताउदै सोही समयमा सिमा सुरक्षा गुल्म हेडक्वाटर बेलौरीलाई जानकारी गरेर बोलाएर जिम्मा लगाएको जानकारी दिए ।
अध्यक्ष बमकाअनुसार सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी ल्याइएका कुखुराले स्थानीय व्यवसायीहरूलाई ठूलो आर्थिक क्षति पु¥याइरहेको छ । अवैध रूपमा भित्रिने कुखुरा सस्तो दरमा बिक्री हुने भएकाले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको व्यवसायीहरूको गुनासो छ । साथै, अवैध कारोबारिमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने संघले जनाएको छ ।
कुखुरा व्यवसायीसंघले यस्ता अवैध गतिविधि रोक्न नियमित अनुगमनलाई तीव्र पार्ने र सरोकारवाला निकायसँग समन्वय गरी कडाइ गरिरहेको र स्थानीय प्रशासनले पनि अवैध आयात नियन्त्रणका लागि सुरक्षा व्यवस्था थप सुदृढ बनाउनुपर्ने उनिहरुको भनाई छ ।
उता सिमा सुरक्षा गुल्म हेडक्वाटर बेलौरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) आईडी भट्टले गस्ती ठाउँबाट भागेका कुखुरा तस्करहरुलाई व्यवसायीहरुको टिमले समातेर हेडक्वाटरको जिम्मा लगाएको बताए । उनले दुईओटा मोटरसाईकलमा अबैध रुपमा ३ क्युन्टल बोइलर कुखुरा र मोटरसाईकल सहित करिब ३ लाखको सामान पक्राउ गरिएको बताए ।
अवैध रूपमा भातरबाट भित्र्याइएका बोइलर कुखुरा ओसारपोसारमा संलग्न मध्ये प्रबिन चौधरी पक्राउ परेका र अर्का मोटरसाईकल चाकल फरार रहेका बताईएको छ । नियन्त्रणमा लिइएका अवैध बोइलर कुखुरा व्यवसायी लगायत सम्बन्धित निकायको रहोबरमा नष्ट गरि थप प्रक्रियाकालागि भन्सार दाखिला गरिएको डीएसपी भट्टले जानकारी दिए ।
