कैलाली–४ मा एमालेले थाल्यो चुनावी प्रचारप्रसार तीव्र

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) का उम्मेदवार लेखराज भट्टले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्।

मतदाता भेटघाट, पार्टी संगठन परिचालन र व्यक्तिगत जनसम्पर्कलाई सँगसँगै अगाडि बढाउँदै उनले चुनावी अभियानलाई गति दिएका हुन्। एमाले उप महासचिवसमेत रहेका भट्टका लागि यो क्षेत्र प्रतिस्पर्धात्मक हिसाबले महत्वपूर्ण मानिन्छ।

उनी यसअघि यही क्षेत्रबाट दुईपटक सांसदमा निर्वाचित भइसकेका छन्। प्रचारप्रसारका क्रममा पार्टीगत कार्यक्रमभन्दा पनि व्यक्तिगत सम्बन्ध विस्तारमा जोड दिने नेताका रूपमा भट्ट परिचित छन्।

नेकपा एमाले मूल परिचालन समितिका सचिव गणेश जिमि साउँदले अहिले अभियान तीव्र पारिएको जानकारी दिए। उनका अनुसार विभिन्न उपसमितिमार्फत संगठित रूपमा काम भइरहेको छ। साउँदले भने, “लेखराज भट्ट एमालेका मात्रै नेता होइनन्, समग्र सुदूरपश्चिमका नेता हुन्।

त्यसैले उनको जितमा कुनै शंका छैन। उनलाई एमाले मात्र होइन, कांग्रेस, माओवादी र स्वतन्त्र मतदाताले समेत साथ दिने विश्वास छ। अहिले हामी प्रचारप्रसारकै क्रममा छौँ।” भट्टले यसअघि नै सुदूरपश्चिमको नेतृत्व अब आफूले गर्ने घोषणा गरिसकेका छन्।

केही समयअघि पत्रकार सम्मेलनमार्फत उनले केन्द्र सरकार र प्रमुख दलका नेतासँग सुदूरपश्चिमबाट आँखा जुधाएर बोल्ने हैसियत शेरबहादुर देउवापछि अब आफूमा मात्रै रहेको दाबी गरेका थिए।

Deep Jyoti Pustak psl
Loading...