धनगढी : सुदुरपश्चिममै पहिलो पटक कैलालीको धनगढीमा मासुको अचार उद्योग सञ्चालनमा आएको छ । धनगढी उपहानगरपालिका वडा नम्बर १९ फुलबारी स्थित पच्चीसघरमा नन्द भाउजुले ‘हाम्रो नेपाली मिठो अचार’ नामक अचार उद्योग सञ्चालनमा ल्याएका हुन् ।
पच्चीसघरका नन्दभाउजू नाता पर्ने रिना बस्नेत र शान्ति कार्कीले मासु लगायत एघार किसिमको अचार उपलब्ध गराउने गरी उद्योग सञ्चालनमा ल्याएका छन् । धनगढीमै तीन महिने अचार बनाउने तालिम लिएका बस्नेत र कार्कीले सोमबारबाट आफ्नो उद्योगको अचार बजारमा ल्याएका हुन् ।
करिब एक लाखको लागतमा सुरू गरेको अचार उद्योगमा खसीको, लोकल, बोईलर कुखुराको, माछाको लगायत एघार किसिमको अचार बिक्री गर्न राखिएको उद्योग सञ्चालिका रिना बस्नेतले बताईन् । उनले सुदुरपश्चिममै पहिलो पटक मासुको अचार बजारमा ल्याईएको बताईन् ।
आधा किलोग्राम र तीन सय ग्रामका डिब्बामा आफ्नो उद्योगको अचार बिक्रीका लागि तयारी अवस्थामा राखेको बताइन् । अचार उद्योगको सोमबार एक समारोहका बिच वडा नम्बर १९ का वडा अध्यक्ष बाधुराम चौधरीले उद्घाटन गरेका हुन् ।
उद्योग सञ्चालक बस्नेतले सबै किसिमको अचार बनाएर धनगढी लगायत देशका अन्य ठाउँमा पनि बिक्री वितरण गर्ने लक्ष्य रहेको बताएकी छन्।

