अत्तरिया : धनगढी उपमहानगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले सेती प्रादेशिक अस्पताल सेती अस्पताल परिसरका चमेना गृहसहित थप दुई होटेलबाट बासी र अखाद्य खाना बरामद गरी नष्ट गरेको छ।
सोमवार गरिएको अनुगमनमा अस्पताल परिसरमा रहेको चमेना गृहसहित थप दुई होटेलबाट बासी र अखाद्य खाना बरामद गरी नष्ट गरिएको हो। उपमहानगरपालिकाका अनुसार सेती अस्पताल परिसरमा रहेको खाना तथा नास्ता पसल, भूमिराज होटेल र डडेल्धुरा होटेलमा अखाद्य बस्तु बरामद गरेको बजार अनुगमन समितिका संयोजक टेकराज भट्टले बताए ।
अस्पताल परिसरको चमेना गृह अर्थात् खाना तथा नास्ता पसलबाट बिग्रिएको मःम ४०, मुसाले खाएको चाउचाउ तीन प्याकेट, बासी समोसा तीन वटा र रङ्ग प्रयोग गरेको कुखुराको मासु तीन केजी बरामद गरिएको बजार अनुगमन समितिका संयोजक भट्टले बताए।
चमेना गृह अर्थात् खाना तथा नास्ता पसलमा सात दिन भित्र भान्सा र भाडा धुने ठाउँ अलग–अलग बनाउन र माछा, मासु तथा तरकारी भण्डारण गर्ने फ्रिज÷डिप फ्रिज छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ।
यस्तै, भूमिराज होटलबाट बासी समोसा ११ वटा, २ थाली बासी भात, कुखुराको बासी मासु ५०० ग्राम,बासी रोस्ट ५०० ग्राम बरामद गरेको भट्टले बताए। यसैगरी, डडेलधुरा होटेलबाट रङ्ग प्रयोग गरेको चाउमिन ५०० ग्राम, बासी समोसा २० वटा र सेमी ५०० ग्राम बरामद गरेको भट्टले बताए।