काठमाण्डौ : नेपाली कांग्रेसको १५औं महाधिवेशन आज ९आइतबार०देखि सुरु भएको छ । काठमाडौंको खुलामञ्चमा ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पस् समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु भएको हो ।
महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु कार्यक्रमस्थल पुगेका छन् । उद्घाटन सत्रमा सहभागी हुन नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा सभापति रवि लामिछानेलगायतका नेताहरु मञ्चमा पुगेका छन् ।
महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९-२० असोज) हुने बताएको छ । निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता (रजिस्ट्रेसन) गरेको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताका लागि ३५ सय रुपैयाँ तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । नाम दर्ता गर्ने प्रतिनिधिहरूलाई कांग्रेसले झोला दिएको छ । झोलामा पार्टी विधान, डायरी, डटपेन, खाना, खाजा र नास्ताको लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ ।
आज (आइतबार) बाट सुरु भएको यो महाधिवेशन आगामी असोज २२ गतेसम्म सञ्चालन हुनेछ । नयाँ नेतृत्व चयन तथा नीतिगत विषयमा छलफल गर्न देशभरबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरु महाधिवेशनमा सहभागी भएका छन् ।