गोदावरीमा लागुऔषधविरुद्ध जनचेतना र्‍याली

कैलाली : कैलालीको गोदावरीमा लागुऔषधविरुद्ध जनचेतना र्‍याली निकालिएको छ । गोदावरी नगरपालिका५ मा लागुऔषध विरुद्धको जनचेतना र्‍याली निकालिएको हो ।

शुक्रबार ५ नम्बर वडा कार्यालयको आयोजना र गेटा प्रहरी चौकीको संयोजन तथा गेटा युवा क्लब, नागरिक समाज र स्थानीय पाँच विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको सहभागितामा कार्यक्रम गरिएको हो ।

र्‍यालीमा लागुऔषध विरुद्धका प्लेकार्ड बोकेर जनचेतना जगाउने नारा लगाउँदै विद्यार्थीहरूले वडा नम्बर ५ का विभिन्न टोल परिक्रमा गरेका छन् । र्‍यालीपश्चात् इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक रविन्द्र कठायतले विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनबाट हुने हानी नोक्सानीको विषयमा जानकारी गराए ।

गोदावरीको गेटा क्षेत्रमा लागुऔषध दुर्व्यसनमा फसेका युवाहरू पक्राउ पर्ने क्रम बढेपछि दुर्व्यसनमा थप युवा नफसुन् भनेर जनचेतना कार्यक्रम गरिएको स्थानीय युवा लोकेन्द्र धामीले बताए ।

स्थानीय विद्यालयका विद्यार्थीको सहभागिताले लागुऔषध विरुद्धको अभियान प्रभावकारी हुने र स्थानीय युवाहरू पनि प्रहरीसँग सहकार्य गरेर लागुऔषध सेवन, ओसारपसार र बिक्री वितरणविरुद्ध लाग्न प्रेरणा मिल्ने विश्वास लिइएको छ ।

Loading...