कैलालीमा दोस्रो विवाह गर्ने बढ्दै

धनगढी : कैलालीमा दोस्रो विवाह गर्नेको संख्या बढ्न थालेको छ। घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्ने पुरुषको संख्या जिल्लाभित्र बढ्न थालेको हो।

घरकी श्रीमतीलाई धोका दिएर अर्को विवाह गरेको भन्दै श्रीमान विरुद्ध कैलालीमा उजुरी दिने महिलाको संख्या समेत बढ्न थालेको छ। परिवारको बिचल्ली पारेर श्रीमानले अर्को विवाह गरेको भन्दै पीडितहरु प्रहरी कार्यालय हुँदै अदालतसम्म समेत धाउने गरेका छन्।

कतिपय पुरुषले त घरकी श्रीमतीलाई कुनै जानकारी नै नदिएर नयाँ श्रीमतीलाई भगाएर परिवारबाट सम्पर्क विहिन हुने गरेका घटना समेत सार्वजनिक भइरहेका छन्। बहु विवाह गर्ने पुरुषको संख्या वर्षेनि बढ्दै गएको भए पनि प्रहरी र अदालतसम्म यस्ता कमै मात्र उजुरी दर्ता हुने गरेको देखिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा आर्थिक वर्ष २०७७/७८ मा मात्र बहु विवाहका ४३ मुद्दा दर्ता भएको अभिलेख छ। घरकी श्रीमतीलाई छोडेर अर्कैसँग विवाह गरेको भन्दै पीडित महिलाहरुले न्याय माग्दै प्रहरी र अदालतमा उजुरी दिने गरेका छन्।

साथै घरकी श्रीमतीबाट बालबच्चा समेत भइसकेको अवस्थामा अर्कैसँग लागेर विवाह नै गर्ने अवस्थाका कारण परिवार र बालबच्चाको विचल्ली भएको भन्दै पीडित महिला प्रहरी हुँदै अदालतसम्म पुग्ने गरेका छन्।

कैलाली प्रहरीमा आर्थिक वर्ष २०७८/७९ मा बहु विवाहका थप ४१ मुद्दा दर्ता भएको पाइएको छ। त्यस्तै गत आर्थिक वर्ष २०७९/८० मा पनि श्रीमानले दोस्रो विवाह गरेको भन्दै ३४ बहु विवाहका मुद्दा प्रहरीमा दर्ता भएको देखिएको छ।

Nabadurga Sunchadi
Loading...